PahiloPost

Aug 9, 2025 | २५ साउन २०८२

कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम रोक्न माग



पहिलोपोस्ट

कोरोनाको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संसदको काम रोक्न माग

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९)को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय सभा सदस्यहरुले संसदको काम कारबाही रोक्नुपर्ने बताएका छन्।

मंगलवार संघीय संसद बाहिर पत्रकारहरुसँग सांसदहरुले विश्वभरी फैलिएको कोरोना संक्रमणको महामारीको सम्भावित जोखिमलाई ध्यान दिँदै संसदको कामकारबाही रोक्नुपर्ने बताएका हुन्। सांसद राधेश्याम अधिकारीले सरकारले सबै भन्दा बढी भिडभाड हुने ठाउँहरु निषेध गर्नुपर्ने र यसको सुरुवात संसदबाट नै गर्नुपर्ने बताए।

उनले भने, ‘संसदमा कुनै बिजनेश पनि देखिँदैन। सांसदहरुले पनि तत्काल बन्द गर्नुपर्ने माग गरिरहेका छन्। केही गरी तलमाथि भयो भने ठूलो क्षति निम्त्याउँछ।’

सांसद सुमन प्याकुरेलले नेपालमा कोरोनाको प्रभाव नदेखिएपनि ढुक्क हुने अवस्था नभएको बताए। भौतिक, आर्थिक र प्राविधिक हिसाबले नेपालमा संक्रमण देखिएपछि समस्या हुने भन्दै उनले सावधानी अपनाउनुपर्ने बताए। अत्यावश्यक कुरा बन्द गरेर देश नै ठप्प हुने अवस्था आउने भन्दै उनले संसद पनि २/४ दिनभन्दा बढी नचल्ने बताए।

‘संसद २/४ दिनभन्दा बढी जाला जस्तो लाग्दैन। अधिवेशन सकिने बेला पनि भयो। ३ दिन बढी जाँदैन।’

सांसद इन्दिरा गौतमले जोखिम नै नभित्रिए पनि सरकारले आफ्नो तर्फबाट तयारी गरिरहेको बताइन्। नेपाल प्रवेश नै नगरी कोरोनाका कारण जोखिम बढ्यो भनेर भन्न नमिल्ने तर होसियारी भने अपनाउनुपर्ने उनले बताइन्।

विश्वका अधिकांश देशमा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। नेपालमा भने अहिले कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण छैन। कोरोनाको संक्रमण नदेखिएपनि सरकारले सभा सम्मेलन, धेरै भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell