चितवन : भरतपुर महानगरपालिका-१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ। भरतपुर महानगरको अगुवाइमा आज यहाँ सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो।
बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरेको छ। कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेका छन्। कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रहेका छन्।
कार्यदलको आजै बसेको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य श्यया ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ। कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ।
अस्पतालको बहिरङ्ग सेवा डा अधिकारी र चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ। यसैगरी जनरल वार्ड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, एचडियू सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ।
जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ। बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ।
कार्यदलका प्रवक्तासमेत रहेका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शंकास्पद बिरामीलाई यस अस्पतालमा पठाइनेछ। तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष पनि सञ्चालनमा रहने छन्।
महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्वतयारीका लागि काम थालिएको बताइन्। सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रीहालेमा क्षति बेहोर्नु नपर्ने बताइन्।
कोरोनाका बिरामीलाई ७५ श्ययाको आइसोलेसन वार्ड
कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०/२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ।
जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ। प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ। विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हुँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
पत्रकार सम्मेलनमा संक्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, संघ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो।
यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारबाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारबाही गरिने प्रशासनले जनाएको छ। बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले संघीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो।
बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्फबाट ३० लाख, बाँके जिल्ला समन्वय समितिले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, छ गाउँपालिकाले रु १०/१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ।