
काठमाडौं : वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले कोरोना भाइरसका संकास्पद व्यक्तिमाथि कुनैपनि परीक्षण नभएको आरोप लगाएका छन्।
कोरोना भाइरसका विषयमा मंगलवार काठमाडौंमा आयोजित एक साक्षत्कारमा डा दीक्षितले भाइरस परिक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन्।
उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन एउटालाई मात्रै देखिएको थियो, नेपालमा त कोरोना भाइरस छदैँछैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त?’
उनले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरे। उनले सरकारसँग भएका केही किटहरु भिआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाए।
एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरेको उनले बताए। उनले आफ्नो अस्पतालमा अझैपनि ३ जना संकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परिक्षण नगरिदिएको आरोप समेत लगाए।
साक्षात्कारमा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले भने कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताए।
उनले भने, ‘भोलीका दिनमा कालोबजारी गरेको पाइएमा र कसैले पनि यहि मौकालाई छोपेर कमाउने धन्दामा लाग्ने, कृतिम अभाव सिर्जना गर्ने गरेको पाइएमा हामी कुनैपनि हालतमा पनि छोडदैनौँ। कठोर भएर निर्दयीपूर्वक प्रस्तुत हुन्छौं। राज्यले यसमा कम्प्रमाइज गर्दैन। व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि त्यो सहुलियत छैन, कसैलाई पनि त्यो मौका आउने छैन।’
कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन पोखरेलले आग्रह गरे।