PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राखेपको निर्देशनसँगै पछि हट्यो एन्फा, रोकियो ‘बी’ डिभिजनका खेल



पहिलोपोस्ट

राखेपको निर्देशनसँगै पछि हट्यो एन्फा, रोकियो ‘बी’ डिभिजनका खेल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को मंगलवार बसेको बैठकले एक हप्ताका लागि खेल गतिविधिहरु बन्द गर्न निर्देशन दिएसँगै शहीद स्मारक ‘बी’ डिभिजनका खेलहरु एन्फाले स्थगित गरेको छ।

पछिल्लो समय कोरोना भाइरस प्रकोपका कारण विश्वभरका खेल गतिविधहरु प्रभावित भएका छन्। नेपालमा पनि खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको फागुन २२ गतेको बैठकले ठूला खेल गतिविधिहरु नगर्न सूचित गरेको थियो।

त्यसयता विश्वकप फुटबल छनोट अन्तर्गतको नेपालको अस्ट्रेलिया र चाइनिज ताइपेईसँगको खेल लगायत चर्चित विश्वस्तरीय खेलाडीहरुलाई सहभागी गराउने क्रममा रहेको एभरेस्ट प्रिमियर लिग सम्मका खेलहरु अनिश्चित समयका लागि स्थगित भएका थिए। त्यस्तै मोफसलमा शुरु नभएका गोल्ड कपलगायत अन्य खेल प्रतियोगिता पनि पछिल्लो समय आयोजना भएका छैन।

तर, अपवादको रुपमा शहीद स्मारक ‘बी’ डिभिजन लिग भने पाँचौं चरणसम्म आइपुग्दा निरन्तर सन्चालन हुँदै आएको थियो।

फेरि आज राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले एक हप्तासम्म खेलकुदसँग सम्बन्धित कुनै पनि प्रतियोगिता, प्रशिक्षण, सभा, सम्मेलन, गोष्ठी, सेमिनारलगायत भेला हुने गतिविधि नगर्न निर्देशन दिएसँगै एन्फा पछि हटेको हो।

राखेपको निर्णयसँगै एन्फाले एक विज्ञप्ति निकाल्दै शहीद स्मारक ‘बी’ डिभिजन लिग चैत १२ गतेसम्मको लागि स्थगित हुने जनाएको छ। लिगसँगै एन्फाले आयोजना गर्ने सभा, गोष्ठीलगायत एन्फा टेक्निकल सेन्टर धरान बुटवल लगायत सातदोबाटो एकेडेमी र एन्फा सचिवालयसमेत १ हप्ताका लागि बन्द हुने जनाएको छ।

त्यस्तै पूर्वनिर्धारित कार्यक्रम अनुसार १६ गते हुने भनिएको एन्फाको वार्षिक साधारणसभा पनि फिफा र एएफसीका प्रतिनिधिहरु आउँदा हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थगित गरेको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell