
काठमाडौं : आज दिनभरजसो धेरै पेट्रोल पम्पमा लामो लाम देखियो। गाडी र मोटरसाइकलमा तेल भर्नेको भिड एकातिर देखियो भने अर्कातिर 'तेल छैन' भन्दै पहिले झै बोर्ड झुण्ड्याइए। एकाएक किन भयो त यस्तो हाल?
मूल्य घट्ने भएपछि काठमाडौंका अधिकांश पेट्रोल पम्पले सोमवार कम तेल उठाए। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि आयल निगमले १६ तारिख (सोमवार) मूल्य घट्ने जानकारी पाइसकेका पम्प संचालकले नोक्सानी घटाउन कम तेल उठाए।
नभन्दै सोमवार रातीदेखि लागू हुनेगरी पम्पले पेट्रोल, डिजल र मट्टितेलको भाउ लिटरमा दुई रुपैयाँ घटायो। अझ २४ पम्पले पेट्रोलियम पदार्थ नै उठाएनन्। र, ती पम्पले ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुन्ड्याए। कोरोना संक्रमणका कारण नाका कडाइ गरेको सूचना पाएका उपभोक्ताका लागि त्यही बोर्डले तेल अभाव हुने आशंकाले मन विचलित बनाउन थाल्यो। त्यसपछि मंगलवार विहानै उपभोक्ता आफ्नो सवारीसाधन लिएर पम्पमा लाइन लाग्न थाले।
मंगलबार उपत्यकाका धेरै पम्पमा सवारीसाधनको लामो लाइन रह्यो। अहिले लाइनमा बसेर तेल भर्नुपर्ने अवस्था छैन। भारतबाट सहज रुपमा पेट्रोलियम पदार्थ आइरहेको छ भने निगमसँग पनि भण्डारण राम्रै छ। अझ नेपाल-भारतबीच पेट्रोलियम पाइप लाइन पनि छ। त्यही पाइपलाइनबाट सहज रूपमा डिजल पनि आइरहेको छ।
थानकोट डिपो प्रमुख विनितमणि उपाध्याय पम्पमा भएको सवारीसाधनको लामो लाइन देखेर अचम्मित छन्।
‘पछिल्लो एक सातादेखि माग भन्दा बढी तेल दिइरहेका छौं। कोरोनाको मनोवैज्ञानिक त्रास कम गर्न समेत अझै बढाएर दिइरहेका छौं,’ उनले भने, ‘उपभोक्ता आत्तिएर लाइन बस्नुपर्ने अवस्था नै छैन। भारतबाट मागभन्दा बढी तेल आइरहेको छ।’
उनका अनुसार सोमबार मूल्य घट्ने भएपछि पम्पले कम तेल उठाएको र केही पम्पले तेल नै लिएर नगएकाले समस्या आएको हो। थानकोटले आज (मंगलबार) १२ लाख लिटर पेट्रोल दिँदैछ। उपाध्यायका अनुसार १२ लाखमध्ये साढे पाँच लाख लिटर बजारमा पुगिसकेको छ।
‘सामान्य समयमा साढे ६ लाख लिटर मात्रै पेट्रोलको माग हो। हामीले दोब्बर तेल दिँदैछौं,’ उनले भने, ‘भारतबाट नआएको भए हामीले दोब्बर पेट्रोल कसरी दिन्थ्यौं र?’
उनले काठमाडौंमा लाइन बढी देखेर नेपालगंज र भैरहवाबाट थप तेल ल्याएको बताउँदै उपभोक्ताले अनावश्यक हल्लामा लागेर स्टक राख्नुपर्ने अवस्था नरहेको जिकिर गरे। कोरोना त्रासका कारण ग्यासको मात्रै अस्वभाविक माग थियो। उनका अनुसार एक साता अघिसम्म पेट्रोल र डिजलको माग सामान्य नै थियो।
प्रमुख उपाध्यायका अनुसार ठूला होटलहरुमा पेट्रोलियम पदार्थको माग घट्न थालिसकेको छ।
‘बल्क सेल विस्तारै घट्न थाल्ने देखिन्छ। होटलहरुमा पर्यटकको अक्युपेन्सी घटेर सिंगल डिजिटमा आउने अवस्था छ,’ उनले भने, ‘हामीलाई अहिले ठूलो प्रेसर नै छैन।’
चैत ५ गते पछाडि स्कुलहरू समेत बन्द हुँदैछन्। स्कुलहरू बन्द हुनेबित्तिकै डिजलको माग थप घट्नेछ। अहिलेसम्म निकासीजन्य उद्योग बाहेकका आन्तरिक उत्पादनका उद्योगलाई समस्या परेको छैन।
बिजुली पर्याप्त भएकाले समेत ती उद्योगमा पछिल्लो समयमा डिजलको माग छैन। कोरोनाकै संक्रमणकै कारण कामदार आइनपुग्दा कतिपय ठूला आयोजना समेत निर्माण ठप्प छ। चिनियाँ ठेकेदार रहेका कतिपय कम्पनीका कामदार उतै रहेकाले निर्माणका काम रोकिएका छन्। त्यसले पनि इन्धनको माग घटाएको छ।