
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या २५ सय नाघेको छ। तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा इटालीमा थप ३४५ जनाको मृत्यु भएको छ। यससँगै कुल मृतक संख्या २ हजार ५ सय ३ पुगेको अलजजिराले जनाएको छ। संक्रमणको संख्या ३१ हजार ५ सय ६ रहेको छ। इटाली युरोपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो। मृत्यु हुनेको संख्या चीनपछि सबैभन्दा धेरै हो।
वर्ल्डोमिटर्सको पछिल्लो तथ्यांक अनुसार विश्वभर करिब २ लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ७ हजार ९ सय ८७ जनाको मृत्यु भइसकेको छ। ८२ हजार ७ सय ६२ उपचारपछि घर फर्किएका छन्।
अमेरिकामा सय जनाको मृत्यु, अदृश्य शत्रुलाई परास्त ट्रम्पको भनाई
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक सय नाघेको छ। एएफपीका अनुसार मर्नेको संख्या वाशिंटनमा धेरै छ। उत्तर पश्चिम राज्यहरुमा ५० जनाको मृत्यु भएको छ। न्युयोर्कमा १२ र क्यालिफोर्नियामा ११ जनाको मृत्यु भएको छ। कोरोनाको संक्रमण अमेरिकाका ५० वटै राज्यमा देखिएको छ।
देशभर कोरोनाको संक्रमण देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई विश्वको अदृश्य शत्रु भन्दै परास्त गरेरै छाड्ने बताएका छन्। ट्रम्पले बुधबार विहान ट्वीट गरेका छन्, 'विश्व अहिले लुकिरहेको एक अदृश्य शत्रुसँगको युद्धमा छ। हामी जित्नेछौं।'
इरान र स्पेनमा मृतकको संख्या बढ्दो
कोरोना संक्रमणका कारणमा इरान र स्पेनमा पनि मृतकको संख्या बढ्दो क्रममा छ। स्पेनमा थप १९१ जनाको मृत्यु भएर ५३३ पुगेको छ भने इरानमा थप १३५ को मृत्यु भएको छ। त्यहाँ मर्नेको संख्या ९ सय ८८ पुगेको छ। फ्रान्समा पनि मर्नेको संख्या १७५ पुगेको छ।