PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोनाको प्रभाव : ५ देशबाट खाद्यवस्तुको कच्चा पदार्थ आयातमा रोक, स्वदेशी उद्योग मर्कामा



राधेश्याम पटेल

कोरोनाको प्रभाव : ५ देशबाट खाद्यवस्तुको कच्चा पदार्थ आयातमा रोक, स्वदेशी उद्योग मर्कामा

वीरगंज : सरकारले चीन, जापान, दक्षिण कोरिया, इरानलगायतका देशबाट आयात गरिने खाद्य वस्तुको कच्चा आयातमा रोक लगाउँदा वीरगंज-पथलैया औद्योगिक करिडोरका खाद्य सामग्री उत्पादन गर्ने दर्जन भन्दा बढि उद्योगहरु प्रभावित भएका छन्।

विश्वको १६० भन्दा बढि देशमा फैलिएको कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले यस्तो निर्देशन जारी गरेपछि उद्योग कलकारखाना बन्द हुने अवस्था सृजना भइरहेको वीरगंजका उद्योगी नारायण रुगंटाले बताएका छन्। ओम चावो विरो इण्डष्ट्रिज प्रालि चैनपुरका निर्देशकसमेत रहेका रुंगटाले कृषि तथा पशुपंक्षी मन्त्रालयले गत फागुन २८ गते जारी गरेको नयाँ परिपत्रमा विदेशबाट आयात गरिने पशु, खाद्य र प्लान्ट सम्बन्धी कच्चा पदार्थमा सम्बन्धित क्वारेन्टाइनको प्रतिनिधिको रोहबरमा जोखिम विशलेषण गरेर मात्र भन्सार जाँचपास गर्न उल्लेख गरिएको बताए।

वीरगंज करिडोरका उद्योगीहरुले प्लान्टतर्फ मकै, चामल, धान, काठ, खाद्यतर्फ वियर, ह्विस्की, बिस्कुट, चकलेट, दाल, तेल तथा पुशतर्फ दाना उद्योगका केमिकल, माछा, मासुलगायत आयात गर्ने गरेका छन्।

उक्त निर्देशनले वीरगंजलगायत देशभरकै उद्योगी व्यवसायी चिन्तित बनेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष समेत रहेका उद्योगी अशोक वैद्यले बताए।

उनले भने, ‘सरकारले बढी कोरोनाको प्रकोप देखिएका चीन, जापान, दक्षिणकोरिया, इटली र इरानबाट कृषि अन्तर्गतको पशुजन्य तथा विरुवाजन्य वस्तु आयातमा रोक लगाएको छ भने फागुन २८ अगावै अनुमति दिइएको सामग्री यदि आयात गरिएको छ भने क्वारेन्टाइन प्रतिनिधिको रोहबरमा जाँच गरेर मात्र भन्सार जाँचपास गर्नु गराउनु भनिएको छ।’

यस्तो निर्देशनले रोक लगाइएका मुलुकबाट भित्र्याइएको करोडौँको समान भन्सार विन्दुमा होल्ड हुने सम्भावना बढेको बताइएको छ।

जाँचको क्रममा जोखिम देखियो भने भन्सार अधिकारीले नष्ट पनि गर्ने भएकोले मालवस्तुको लगानी पनि खेर जाने चिन्ता बढेको व्यवसायीहरुको भनाइ छ। परिपत्रमा आयात अनुमति बेगर आयात गरिएका समानलाई नष्ट गर्ने मन्त्रालयले अर्थ मन्त्रालय तथा खाद्य क्वारेन्टाइन,पशु क्वारेन्टटाइन र प्लान्ट क्वारेन्टाइनलाई जानकारी गराइएको छ।

यस विषयमा पशु क्वारेन्टाइनका वरिष्ठ पशु चिकित्सक डा हरेराम यादवले निर्देशन बारे आफूलाई जानकारी रहेको र यसबारे आफूहरु सचेतना अपनाइ रहेको बताए। उनले यस्तो निर्देशनले विदेशबाट आयात गर्ने पशुजन्य, खाद्यजन्य, विरुवाजन्य मालवस्तुको आयातमा कमी आउने सम्भावना रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell