PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

यसरी हुँदैछ कर्णालीमा कोरोना भाइरसको प्रतिकार्य तयारी



पी बी खड्का

यसरी हुँदैछ कर्णालीमा कोरोना भाइरसको प्रतिकार्य तयारी

सुर्खेत : चीनको वुहानबाट शुरु भई विश्वभर प्रकोपको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को प्रतिकार्य योजना नेपालमा पनि तीव्र पारिएको छ। उत्तरी छिमेकी मुलुक चीनसँगै सिमाना जोडिएको कर्णाली प्रदेशमा पनि कोरोनाको त्रास बढ्न थालेपछि सतर्कतातर्फ प्रदेश सरकार लागि परेको छ।

प्रदेशको तीन वटा जिल्ला हुम्ला, मुगु र डोल्पा जिल्ला चीनसँग सिधा जोडिएकाले कर्णालीमा कोरोना नभित्रिएला भन्न सकिन्न। त्यत्तिमात्रै होइन भारतमा समेत संक्रमण देखा परिसकेकाले यहाँका अधिकांश नागरिक मजदुरीका लागि भारत ओहोर दोहोर गर्ने हुँदा पनि उच्च जोखिममा देखिन्छ। सीमा जोडिएका जिल्लाका नागरिक दैनिक उपभोग्य सामानदेखि मजदुरीका लागि समेत चीन जाने हुँदा कर्णाली प्रदेश पनि कोरोनाको उच्च जोखिममा छ।

प्रदेश सभा बैठकमा समेत सांसदहरुले विश्वमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। भौगोलिक विकटता र सेवा प्रवाहका हिसावले पछाडी रहेको प्रदेशमा कर्णाली सरकारले कोरोना संक्रमण हुन नदिन आवश्यक तयारीसँगै प्रदेश भित्रिने नाकामा स्वास्थ्यकर्मी खटाएर जाँचसहित कडाइ गरेको छ।

कर्णाली प्रदेश सरकारको तयारी स्वरुप कोरानाको जोखिम बढ्न नदिनका लागि कर्णालीमा सात सदस्यीय कार्यदल गठन भएको छ। स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीको अध्यक्षतामा अन्य स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सम्बन्धित कर्मचारी सहितको सात सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले प्रदेशमा कोरोना भाइरसको लक्षण देखिए वा शंका लागे तत्काल उद्दार गरी स्वास्थ्यकर्मीको निगरानीमा राख्ने र उपचार गर्ने छन्।

प्रदेश भित्रिने सीमामा कडाइ

प्रदेश सरकारले कोरोनाको त्रास बढ्दै गएकाले कर्णालीको विभिन्न स्थानमा ‘हेल्थ डेस्क’ खडा गरेर जाँच गरिरहेको छ। प्रदेश सरकारले चीनसंग सीमा जोडिएको हुम्लाको हिल्सा, प्रदेश ५ सँग सीमा जोडिएको बबई र बर्दियाबाट सुर्खेत भित्रिनेका लागि कुईनेमा, दाङबाट भित्रिने नागरिकका लागि सल्यानको कपुरकोट र काठमाडौंबाट सुर्खेत भित्रिने नागरिकको चेकजाँचका लागि सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ नै स्थापना गरी जाँच गरिँदै आएको छ। स्वास्थ्य परीक्षणमा कडाईसँगै सचेतना अभियानलाई पनि उत्तिकै जोड दिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीको भनाइ छ।

‘प्रदेशमा भित्रिने नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि विभिन्न नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको छ’, उनले भनिन्, ‘जाँच गर्दा शंकास्पद लागे र १०४ डिग्रीभन्दा बढी ज्वरो आएको देखिएमा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरेका छौँ।’

निर्देशनालयले कोरोना भाइरसका बारेमा प्रदेशका सबै जिल्लाहरुमा जनचेतनामूलक अभियान चलाइको भन्दै आमसर्वसाधारणलाई कोरोनाबाट बच्न समेत सचेत हुन आग्रह गरेको छ। मन्त्रालयले प्रचारप्रसारदेखि लिएर यसबाट जोगिने तरीकाका बारेमा नागरिकस्तरसम्म पुग्न सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

पाँच वटा आइसोलेसन बेड तयार

प्रदेश अस्पतालमा कोरोना संक्रमण व्यक्तिका लागि ५ वटा आइसोलेसन बेड तयार गरिसकेको छ।

‘पाँच वटा आइसोलेसन बेड तयारी अवस्थामा छ’, अस्पतालका सुपरिटेण्डेन्ट डा डम्बर खड्काले भने, ‘थप २० वटा आइसोलेसन बेडको व्यवस्थापन गर्ने तयारी भइरहेको छ।’

सुरक्षित र अन्य नागरिकको आवतजावत नहुने स्थानमा व्यवस्थापन गरिएको छ। आवश्यकता अनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आवश्यक परे बेड थप्न र कम्तीमा पनि दुई सय बढी अट्न सक्ने क्वारेन्टाइनको व्यवस्थापन गर्न समेत प्रदेश अस्पताललाई निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहीले कोरोना संक्रमण हुन नदिन आवश्यक तयारीका साथै स्रोत र साधनको व्यवस्थापनमा ध्यान दिन प्रदेश अस्पताललाई निर्देशन दिएका छन्।

भिडभाडमा नजान आग्रह

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले कोरोनाको प्रकोप बढ्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक धेरै हिडडुल र भिडभाडमा नजान आग्रह गरेको छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि मान्छेहरुको भिडभाड र भेला हुने जस्ता कार्यक्रमहरु आयोजना नगर्न समेत अनुरोध गरेको छ।

‘सबै सर्वसाधारण नागरिकले उच्च सतर्कता अपनाउनुपर्छ। अति आवश्यक, नगई नहुने काम बाहेक अनावश्यक धेरै हिडडुल नगर्न र भिडभाडमा नजान सबैलाई आग्रह गर्दछु’, निर्देशक जोशी भन्छिन्, ‘मेला, महोत्सव र विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरुले आयोजना गर्ने ठूला कार्यक्रमहरु पनि नगर्न अनुरोध छ। स्वयं सर्वसाधारण नागरिकले पनि स्वास्थ्यप्रति गम्भीर भएर सरसफाइमा ध्यान दिनुपर्छ।’

रोग लागिसकेपछि औषधी उपचार गर्नुभन्दा पनि रोग नै लाग्न नदिन सचेत हुनुपर्ने उनको भनाइ छ। निर्देशनालयले कोरोनाको संक्रमण हुन नदिन आवश्यक स्रोत साधनको व्यवस्थापन गरिसकेको जनाएको छ।

यसअघि नै निर्देशनालयले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न तथा बिदा नदिन र तालिममा अन्यत्र नपठाउन र तयारी अवस्थामा रहन सबै जिल्लालाई निर्देशन दिइसकेको छ।

अनुगमनमा मन्त्री र मुख्यमन्त्री

प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले स्थापना गरिएका हेल्थ डेस्कको अनुगमन समेत गर्दै आएका छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको बबई र प्रदेश अस्पतालको अवस्था बारे बुझ्न मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री दल रावलसहित सम्बन्धित निकायका व्यक्तिहरु स्थलगत अनुगमनमा पुगे।

फागुन २६ गतेदेखि स्थापना गरिएको बबईको हेल्थ डेस्क अनुगमनपछि मुख्यमन्त्री शाहीले आवश्यक निर्देशन समेत दिएका छन्। मुख्यमन्त्री शाहीले कर्णालीमा भित्रिने प्रमुख नाका भएकाले बबई हेल्थ डेस्कमा स्वास्थ्यकर्मी थप गरी २४सै घण्टा स्वास्थ्य जाँच गर्नुपर्ने, दुई वटा शौचालय बनाउनुपर्ने लगायत निर्देशन दिए।

जुनसुकै सवारी साधनमा ओहोरदोहोर गर्ने नागरिक भएपनि कडाइका साथ स्वास्थ्य परीक्षण गर्न उनले निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell