PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

टेकुमा कोरोना फोबिया : निमोनियाका बिरामी पनि कोरोना भन्दै रिफर, यस्तो छ अस्पतालको तयारी



फूलमाया पुरी

टेकुमा कोरोना फोबिया : निमोनियाका बिरामी पनि कोरोना भन्दै रिफर, यस्तो छ अस्पतालको तयारी

काठमाडौं : कोरोना महामारी विश्वव्यापी भइसकेको छ। नेपालमा हालसम्म एक जनामा संक्रमण पोजेटिभ देखिए पनि निको भएर घर फर्किसकेका छन्। सरकारले संक्रमण नियन्त्रणका लागि अति प्रभावित देशका नागरिकलाई अनअराइभल भिसा रोकिसकेको छ। विमानस्थलमा तथा नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरेको छ।

तर, कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या बढिरहेको छ। कतिपय जिल्लाहरूबाट सामान्य फ्लूका बिरामीलाई पनि कोरोना आशंकामा रिफर गरेपछि स्वास्थ्य जाँच गर्नेको चाप टेकु अस्पतालमा परेको छ।

निमोनियाका बिरामी धेरै

अस्पतालका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा. अनुप बास्तोलाले कोरोना परीक्षणको नतिजा २४ देखि ४८ घण्टाभित्र उपलब्ध गराउँदै आएको बताए। सेन्टरमा विदेशबाट आएका, त्रिभुवन विमानस्थलबाट रिफर भएका र कोही लक्षण देखापरेका नागरिक आइपुग्ने उनी बताउँछन्।

पछिल्लो समय अन्य अस्पताल तथा निकायहरूले निमोनिया लगायतका बिरामीलाई पनि कोरोनाको आशंकामा पठाउनाले चाप बढेको बास्तोलाको भनाई छ।

'यो संख्या मौसमी रुघाखोकीले गर्दा पनि बढ्ने देखिन्छ', उनले भने 'गर्मी मौसममा डेंगुको सिजन हुने भएकाले पनि यसलाई प्रभाव पार्नेछ।'

४० जनाका लागि क्वारेन्टाइन, पाँच आइसोलेसन वार्ड

अस्पतालमा आइसोलेसन र क्वारेन्टाइन वार्डको व्यवस्था छ। हाल पाँच वटा आइसोलेसनसहित ४० जनाका लागि क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था गरिएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए।

आइसोलेसन र क्वारेन्टाइनमा बस्नेलाई मनोसामाजिक परामर्श आवश्यक रहेको राजभण्डारी बताउँछन्।

'कोरोना फोबियाले विकराल अवस्था त आउने हैन?' उनी प्रश्न गर्छन्, 'पछिल्लो समय आम मानिस र चिकित्सकसहित सम्पूर्णलाई मनोसामाजिक परामर्श आवश्यक देखिएको छ।'

अस्पतालले आइसोलेसनमा इन्टरनेटदेखि टेलिभिजनको पनि व्यवस्था गरेको छ। आइसोलेसनमा बसेकालाई एक-एक वटा मोबाइल दिइएको छ। जसबाट परामर्शकर्ताले परामर्श दिनेछन्। टिपिओ नेपाल नामक संस्थाले भाइबरका माध्यमबाट परामर्शमा सहयोग गरिरहेको छ।

एक हप्ताभित्रै फ्लू क्लिनिकको व्यवस्था

निर्देशक राजभण्डारीका अनुसार एक हप्ताभित्रै 'फ्लू क्लिनिक' अस्पताल हातामै सञ्चालन गरिने छ। क्लिनिकबाट परामर्शका साथै व्यक्तिको अवस्था हेरेर आइसोलेसनमा बस्नुपर्ने वा नपर्ने छुट्ट्याइने छ।

कतिपय व्यक्ति डराएर नै अस्पताल पुग्ने गरेको राजभण्डारीको अनुभव छ।

उनले भने 'कतिपय अवस्थामा उच्च जोखिम क्षेत्रबाट आएका व्यक्तिहरू सामाजिक वा पारिवारिक कारणले मानसिक पीडामा हुन सक्छन्।'

यस्तो छ अस्पतालको 'प्लान बी'

कोरोनाको संक्रमण फैलिएमा उपचार तथा व्यवस्थापनका लागि कीर्तिपुरको आयुर्वेद अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, छाउनीस्थित सैनिक अस्पताललाई तयारी अवस्थामा राखिएको राजभण्डारीले बताए। तालिम प्राप्त चिकित्सकसहित एकसय पचास भेन्टिलेटरको व्यवस्था ती अस्पतालमा हुनेछ।

केही समयअघि प्रयोग गरिएको खरिपाटीको क्वारेन्टाइनलाई पनि उपयोग गर्न सकिने उनको भनाई छ।

क्रिटिकल बाहेक अन्य अवस्थामा घरमा नै क्वारेन्टाइनमा बस्न सकिने राजभण्डारीको सुझाव छ। 'क्रिटिकल अवस्थामा हामी अस्पतालमै आइसोलेसनमा राखेर उपचार गर्नेछौँ। टिमको कमी छ। सबै पक्ष हामीले मात्र व्यवस्थापन गर्न पनि सक्दैनौँ। अन्य क्षेत्रबाट पनि सहयोगको खाँचो छ।'

++++

जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा कोरोना त्रासका कारण पछिल्लो समय निकै दौडधुप भएको बताउँछिन्।

दिनमा एकदेखि तीन वटासम्म परीक्षण गर्ने गरेको उनी बताउँछिन्। परीक्षण गर्नुपर्ने संख्या बढेमा सुरक्षित परीक्षणका लागि आवश्यक तयारीमा जुटिरहेको झाको भनाई छ।

गत आइतबारसम्म ४५६ जनाको कोरोना परीक्षण गरिसकेको झाले बताइन्। काठमाडौँ बाहिरबाट नमूना संकलन गरी पठाउनेभन्दा काठमाडौँबाटै बढी संख्यामा परीक्षणका लागि आउने गरेको उनको भनाई छ।

नमूना संकलन गरेको ७२ घण्टाभित्र परीक्षण गरिसक्नु पर्नेछ। संकलित नमूनालाई पहिले चिस्याएर राख्नुपर्छ।

झाले भनिन्, 'यदि ७२ घण्टाभन्दा ढिलो भए माइनस ७१ डिग्री सेल्सियस चिसो हुनुपर्छ जुन अत्यधिक चिसो हो।'

प्रयोगशालाले हरेक प्रदेशका अस्पतालहरूमा दुई-दुई जना चिकित्सकलाई नमूना संकलनबारे तालिम दिइसकेको छ।

प्रयोगशालाबाहिर परीक्षणको तयारी कस्तो?

प्रयोगशालाबाहिर परीक्षण गर्ने तयारी के छ? यसबारे झा भन्छिन्, ‘यो कुनै रातारात तयारी गर्न सक्ने कुरा होइन। अहिलेको अवस्थामा यहाँभन्दा बाहिर परीक्षण गर्न सक्ने अवस्था छैन।’

काठमाडौँमै पनि अन्य अस्पतालमा उपकरण नभएको उनको भनाई छ।

झा बिरामीलाई नडराउन सुझाव दिन्छिन्। भन्छिन्, 'यसका विशेष किसिमका लक्षणहरू छन्। अनावश्यक डरले झन् कमजोर बनाउँछ. डराउनेभन्दा नजिकको स्वास्थ्य संस्थामा गएर जँचाउनुस्।'

आवश्यक परेमा एक दिनमा १५ सयसम्म नमूना परीक्षण गर्न सकिने र त्यसका लागि जनशक्ति व्यवस्थापन आवश्यक रहेको झाको भनाई छ। 'एक दिनमा १५ सयसम्म नमूना परीक्षण गर्न सक्ने क्षमता छ। त्यसलाई बढाउन पनि सकिन्छ। कहाँ-कहाँबाट उपकरण र जनशक्ति ल्याउन सकिन्छ भनेर गृहकार्य गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेका छौँ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell