
काठमाडौं : सरकारले कोभिड-१९ नियन्त्रणका लागि भन्दै युरोपका सबै मुलुकका नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ। कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले युरोपसहित पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। त्यसका लागि विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरु मार्फत सूचना जारी गरिने छ।
यसरी पूर्ववत रुपमा यात्राका लागि टिकट खरिद गरेकाहरुलाई टिकट वापतको रकम पूरै फिर्ता गर्न विमान कम्पनीहरुलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ।
'यात्रुले नेपाल सरकारद्वारा ट्राभल एडभाइजरी जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा वा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने र हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने,' बैठकको निर्णयमा उल्लेख छ।
यसको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलयलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, नेपाल सरकारले आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिषा अवधि नियमित गर्न निर्धारित भिषा अवधि भित्र आवेदन गरेमा प्रचलित कानुन बमोजिम भिषा नियमित गरीदिने भएको छ। यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ।