PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोनाको त्रासले गौरीफन्टा नाकाबाट नेपाल फर्किनेको लर्को, ४७ वटा आइसोलेसन बेड स्थापना



एम बम

कोरोनाको त्रासले गौरीफन्टा नाकाबाट नेपाल फर्किनेको लर्को, ४७ वटा आइसोलेसन बेड स्थापना

कैलाली : सुदूरपश्चिम प्रदेशमा कोरोनाको सतर्कता बढाइएको छ। सबैतिर कोरोनाको त्रास फैलिएपछि स्थानीय नागरिकहरूमा पनि त्यसको केही प्रभाव देखिँदा प्रदेशको सामाजिक विकास मन्त्रालयले जनचेतनालाई समेत जोड दिएको छ।

कोरोना भित्रिन नदिन प्रदेश सरकार, स्थानीय तह तथा अन्य सरोकारवाला समेत एक भएका छन्। सुदूरपश्चिम प्रदेशमा भारतबाट यसको सङ्क्रमण भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोनाको  सङ्क्रमण भित्रिन नदिन र रोकथाम गर्न आवश्यक व्यवस्थापनको नेतृत्व गरिरहेको छ । गत साता बसेको मन्त्री स्तरीय बैठकले २ वटा प्रादेशिक अस्पतालको आईसीयु कक्षलाई भेन्टिलेटरयुक्त बनाउने निर्णय पनि गरिसकेको छ ।

मन्त्रालयले रोकथाम, प्रतिकार्य र व्यवस्थापनका लागि नीतिगत निर्णय गरिसकेको जनाएको छ । कोरोनाको सतर्कता, पूर्व तयारी र नियन्त्रण सम्बन्धी कार्यविधि तयार पारेर सबै स्वास्थ्य संस्थाहरूलाई काम गर्न मन्त्रालयले निर्देशन गरिसकेको जनाएको छ।

जसका लागि ६ करोड हाराहारीमा बजेट खर्च गर्ने र त्यसको व्यवस्थापन पनि प्रदेश सरकारले नै गर्ने छ।

साना नाकाहरू बन्द, ११ वटा नाकामा उच्च सतर्कता

कोरोना भित्रिन नदिन खुला सिमाना सुदूरपश्चिमको प्रमुख चुनौती हो। भारत सँग सीमा जोडिएका जिल्लाहरूको हकमा पनि कैलाली, कञ्चनपुर र दार्चुलाबाट आवतजावत बढी हुने गर्दछ। सुदूपश्चिमेलीहरुको प्रमुख रोजगारीको गन्तव्य पनि भारत नै हो। साथै नजिकैका नेपाली सहरहरूमा भारतबाट समेत आउने भारतीय नागरिकहरूको सधैँ भिड नै रहन्छ।

यसरी नाकाहरूमा सहज आउजाउ रहेको सुदूरपश्चिममा अहिले उच्च सतर्कता अपनाइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार अहिले ११ वटा नाकाबाट आउजाउ भइरहेको छ। अन्य साना नाकाहरू भने बन्द भइसकेका छन्। सञ्चालनमा रहेका नाकाहरूमा समेत उच्च सतर्कता अपनाइएको उनले बताए।

‘एउटा विमानस्थलमा र ११ वटा नाकामा  हाम्रो सतर्कता  बढाइएको छ,’ कार्कीले भने, ‘नाकामा खटाइएका स्वास्थ्यकर्मीहरुलाई ‘इन्फ्रारेड’ (थर्मोमिटर गन) लगाएतका उपकरण समेत गरी सुरक्षित र कडाइका साथ रहन हामीले भनेका छौँ।’

साना ठुला गरी ६ वटा नाका रहेको कैलालीमा अहिले २ वटा नाका मात्रै खुला छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार नेपाल भारतका अधिकारीहरूको बैठक पछि कैलालीका साना नाकाहरू बन्द गर्ने सहमति भएको हो।

नेपाल फर्किनेको लर्को

फागुन २० गतेसम्म दैनिक ५ सयको हाराहारीमा मात्रै नेपालीहरू स्वदेश फर्किने कैलालीको गौरिफन्टा नाकाबाट अहिले २ हजार हाराहारीमा दैनिक नागरिकहरू फर्किरहेका छन्। भारतमा समेत कोरोनाको सङ्क्रमण बढेपछि नेपालीहरू धमाधम नेपाल फर्कन थालेका हुन्।

गौरिफन्टा नाकामा फाल्गुन २२ गतेबाट सञ्चालन भएको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले भने, ‘सुरुमा दैनिक ५ देखि ६ सयसम्म नेपालीहरू आउने गरेका थिए। अहिले २ हजार हाराहारीमा पुगिसके।’

गौरिफन्टा पछि कैलालीमा खक्रोला, कञ्चनपुरमा गड्डाचौकी र दार्चुलाको झुला घाट नाका यहाँका प्रमुख आउजाउ गर्ने नाकाहरू हुन्।

अहिले सबै नाकामा नेपाल फर्किनेको लर्को नै छ।

प्रदेशभर ४७ वटा आएसोलेसन बेड स्थापना

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशभर हालसम्म ४७ वटा आएसोलेसन बेड स्थापना भएको जनाएको छ। कार्कीले भने, ‘हामीले हालसम्म निर्देशन गरेअनुसार ९ वटै जिल्लामा ४७ वटा आएसोलेसन कक्ष स्थापना भएका छन्। निजी अस्पतालमा समेत गरी ती बेडहरू स्थापना भएका हुन्,’ कार्कीले अगाडी भने, ‘यदि प्रदेशमा सङ्क्रमण भित्रिसकेपछिको तयारीका लागि पनि हामीले निजी क्षेत्रसँग सहयोगका लागि अपिलसमेत गरिसकेका छौँ।’

उद्योग वाणिज्य सङ्घ र होटेल व्यवसायी सङ्घसँग समन्वय गरेर थप आएसोलेसन बनाउने तयारी गरिएको उनले बताए।

त्यस्तै कैलाली र कञ्चनपुरमा रहेको सेती र महाकाली प्रादेशिक अस्पतालमा तत्काल आइसियु र भेन्टिलेटर खरिदका लागि सरकारले एक–एक करोड दिने निर्णय पनि गरेको छ।

नेपाल–भारत अन्तरदेशिय बस सेवा रोकियो

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल–भारत अन्तरदेसिय बस सेवा बन्द गरिएको छ। कैलालीको धनगढीबाट गौरीफन्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए। अहले ती बसहरु रोकिएका छन्।

उता कञ्चनपुर हुँदै भारत जाने बस सेवा पनि रोकिएको छ।

प्रशासनको आग्रहपछि नेपाल–भारत बस सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताए। ‘जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेका छौँ,’ उनले भने।

यसबाहेक गौरीफण्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ।

बजारमा कालोबजारी बढेपछि मास्कहरु, स्वास्थ्य जाँच सम्बन्धीका उपकरण र कोरोनाको उपचारमा स्वास्थ्यकर्मीले पहिरिनुपर्ने लुगाहरुको भने अभाव रहेको कार्कीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell