वीरगंज : बाराका तीन दर्जन महिलाहरुलाई सहकारी संस्थाबाट ऋण लिन लगाइ एक करोड ३० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुवर्ण गाउँपालिका वडा नम्बर २ का ५३ वर्षीय झुल खाँ पैठान र प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरियाका ५० वर्षीय जहिर मियाँ रहेका छन्।
पैठानले सुवर्ण गाउँपालिककाका २२ जना महिलाहरुलाई विभिन्न सहकारी तथा वित्तीय संस्थाबाट ऋण लिन लगाई ८३ लाख ८१ हजार ठगि गरेका छन् भने मियाँले बन्जरियाका १४ जना महिलाहरुलाई ललाई फकाई ४० लाख ९५ हजार ठगेको बारा प्रहरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। दुवै जनाले सहकारी संस्थाबाट महिलाहरुलाई ऋण लिन लगाइ साँवा, ब्याज तिरिदिने र केही कमिशन दिने भन्दै झुक्याएर ठगी गरी फरार भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला अदालत बाराबाट पैठानलाई १० दिन र मियाँलाई ७ दिन ठगी मुद्दामा म्याथ थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।