.jpg)
काठमाडौं: समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एसइई परीक्षा स्थगित गर्ने निर्णयमा असन्तुष्टि जनाएका छन्।
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै बिहीबारबाट सुरु हुने एसइई परीक्षा बुधबार साझ अन्तिम समयमा स्थगित गरेको थियो। जसको धेरैले विरोध गरेका छन्। स्थगित गर्नुनै थियो भने केही दिन अघि गर्नुपर्थ्यो भन्ने धारणा धेरैको छ। धेरैले एसइई कुनै हालतमा रोकिँदैन भन्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलको आलोचना गरिरहेका छन्। बुधबार अपराह्न मात्रै शिक्षा मन्त्रीले एसइई परीक्षा हुन्छ भनेको एक घण्टापछि अचानक स्थगितको निर्णयले अभिभावक आक्रोशित बनेका छन्।
यसैक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले पनि ट्वीटरमार्फत यो निर्णयमा असन्तुष्टि जनाएका छन्। यो निर्णयलाई उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ समूहसँग जोडेका छन्। नारायणकाजी समूहले जहिले पनि शिक्षा र स्वास्थ्य मन्त्रालय लिने, पार्टीभित्र गुट चलाउने र पार्टीलाई सिध्याउने काम गर्दै आएको बाबुरामको आरोप छ।
विगतमा माओवादी केन्द्रमा हुँदा नारायणकाजीको गुटमा गिरिराजमणि पोखरेल र धनीराम पौडेल थिए। अहिले गिरिराजमणि मात्रै छन्। उनी कहिले स्वास्थ्य त कहिले शिक्षा मन्त्री हुँदै आएका छन्। यी मन्त्रालयमा गिरिराजमणिको निरन्तरता छ। एसइई परीक्षा स्थगितको विषय अहिले शिक्षा मन्त्रालय सम्हालिरहेका नारायणकाजी समूहका गिरिराजमणिसँग ठोक्किएको छ। उनैलाई लक्षित गरि बाबुरामले असन्तुष्टि जनाएका हुन्।
विगतमा नारायणकाजी समूहले गुट चलाएर माओवादी केन्द्र सिध्याएको र अब यस्तै अप्रिय निर्णयले नेकपा सिध्याउने बाबुरामको टिप्पणी छ।
२००५ सालमा प्रधानमन्त्री मोहन शमशेरको जन्मदिन परेकाले एसएलसी स्थगित गरिएको भन्ने पत्रकार विनु सुवेदीको ट्वीटमाथि प्रतिक्रिया जनाउँदै बाबुरामले भनेका लेखेका छन्, 'उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान्!यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे?कति खर्च बच्थ्यो?यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने;गुट चलाउने हो!माके सिध्यायो!अब नेकपा सिध्याउँछ!'
त्यसो त बाबुरामले प्रतिनिधिसभा निर्वाचनमा नारायणकाजीलाई गोरखामा पराजित समेत गरेका थिए।
उहिलेका श्री३ले अहिलेका श्री३झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान्!यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे?कति खर्च बच्थ्यो?यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने;गुट चलाउने हो!माके सिध्यायो!अब नेकपा सिध्याउँछ! https://t.co/Nywm9PE5q1
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 19, 2020