
काठमाडौं : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न विभिन्न देशले आवश्यक सबै कदम चालेका छन्। आ-आफ्नै नियम बनाएका छन्। सीमा र स्कुल बन्द, हवाई उडान र भेला जमघटमा प्रतिबन्ध लगाएका छन्। यति हुँदाहुँदै पनि संक्रमण बढिरहेका बेला कोरोनाविरुद्ध चालिएका कदमलाई कडाईंका साथ लागु गर्न विभिन्न देशले महंगो जरिवाना र जेल सजायँ सम्मको दण्ड जरिवानाको नीति अख्तियार गरेको बीबीसीले उल्लेख गरेको छ।
सबैभन्दा पहिले कोरोना देखिएको वुहान अहिले सामान्य बन्दै गएको छ। बिहीबार सार्वजनिक प्रतिवेदनअनुसार यहाँ नयाँ संक्रमित शून्यमा झरेको छ। यो स्थितिसम्म आइपुग्न चीनले कठोर कदमहरु चालेको थियो। जसको मानव अधिकारवादीहरुले आलोचना समेत गरेका थिए।
चीनले वुहानलाई पूर्ण रुपमा बन्द गरेको थियो। यातायात तथा रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो। सडकमा तापक्रम जाँच गरियो। मानिसलाई घर बाहिर नस्किन नदिन सुरक्षाकर्मी खटाइयो। चीनमा मानिसहरु आउन प्रतिबन्ध लगाइयो। आएकाहरुको स्वास्थ्य निगरानी गर्नका लागि आफ्नो व्यवस्थाको प्रयोग गर्यो।
इटालीमा जरिवाना र जेल
चीनपछि सबैभन्दा बढी प्रभावित इटालीमा संक्रमण रोक्न महंगो जरिवानाको व्यवस्था गरिएको छ। इटालीको उत्तरी इलाकामा सबैभन्दा पहिला यातायातमा प्रतिबन्ध लगाइएको थियो। पछि देशभर प्रतिबन्ध लगाइयो। सरकारले नागरिकलाई घरमै बस्न आग्रह गर्यो। अतिआवश्यक कामबाहेक विना कारण घरबाट निस्किनेलाई जरिवाना गरिरहेको छ। नियमको उल्लंघन गर्नेलाई १६ हजारसम्म जरिवानाको दण्ड सजाय छ। त्यसैगरी तीन महिनासम्म जेल हुनसक्ने नियम छ।
स्पेनमा सेना परिचालन
स्पेनमा कोरोनाका कारण चहलपहल पूर्ण रुपमा ठप्प छ। अतिआवश्यकबाहेक सबै संस्थानहरु बन्द गरिएको छ। जरुरी कामबाहेक घरबाट निस्किन रोक लगाइएको छ। स्पेनका प्रधानमन्त्रीले सार्वजनिक संकटकाल घोषणा गरेका छन्। इतिहासमा दोस्रोपटक स्पेनमा यसरी संकटकालको सामना गरिरहेको छ। सार्वजनिक समारोहमा प्रतिबन्ध लगाइएको छ। निगरानी गर्न सेना परिचालन गरिएको छ। घर नभएकाहरुलाई पनि सेनाले सुरक्षित बसोबासको व्यवस्था गरिरहेको छ।
साउदी अरबमा लाखौं जरिवाना
साउदी अरबमा चर्को जरिवाना गरिएको छ। देशमा प्रवेश गर्ने मानिसहरुले स्वास्थ्य र यात्राबारे झुटो जानकारी दिए ९८ लाखसम्मको जरिवाना लगाउने घोषणा गरेको छ। खाडी मुलुकहरुले आवागमनमा पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् भने हवाई र स्थल सीमा पूर्ण रुपमा बन्द गरेका छन्। केही देशले भने बाहिरबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ।
अष्ट्रेलियामा कडा नियम
अष्ट्रेलियामामा आइसोलेसन नियम पालना नगर्नेलाई चर्को जरिवाना र जेल सजायको व्यवस्था गरिएको छ। पश्चिमी अष्ट्रेलियामा नियम उल्लंघन गर्नेलाई ३७ लाख रुपैयाँसम्म जरिवानाको प्रावधान छ।
न्युजिल्याण्डमा पनि महंगो जरिवाना
न्युजिल्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले आइसोलेसन नियम पालना नगर्ने यात्रीहरुले भारी जरवाना भर्नुपर्ने चेतावनी दिएकी छिन्। उनीहरुलाई फिर्ता पठाउनेसम्मको कदम चालिने उनको भनाई छ।
फ्रान्समा घरबाहिर निस्किनेलाई १२५ युरोसम्म जरिवानाको व्यवस्था गरिएको छ। १५ दिनका लागि सम्पूर्ण सार्वजनिक कामकारवाही स्थगित गरिएको छ। नागरिकलाई सुपथ मूल्य पसल सञ्चालन गरिएको छ।
अमेरिकामा सेल्फ क्वारेन्टाइनदेखि अतिरिक्त प्रतिबन्ध लगाइएको छ। सार्वजनिक स्थानमा ५० भन्दा बढी मानिस जम्मा हुन रोक लगाइएको छ। अमेरिकामा आइसोलेसनमा बस्न नमान्ने व्यक्तिहरुको घर अगाडि निगरानीका लागि प्रहरी खटाइएको छ।
भारतको नयाँदिल्लीमा संक्रमणका लक्षण देखिए घरमै १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको छ। सो दिनको तलब सरकारले दिने घोषणा गरिएको छ।