
काठमाडौं: सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि बुधबार साझ एसइईसहित सबै तहका परीक्षाका स्थगित गर्ने निर्णय गर्यो। सरकारको निर्णयअनसार आजदेखि हुने भनिएको एसइई रोकियो। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर सबै परीक्षा स्थगित भएको जानकारी दियो। तर, त्रिभुवन विश्वविद्यालय भने सरकारले भन्दै परीक्षा स्थगित नहुने अडानमा बस्यो।
सरकारको निर्णयपछि बुधबारै साझ उपकुलपति धर्मकान्त बास्कोटाले त्रिविको परीक्षा स्थगित नहुने बताए। उनको भनाइअनुसार सरकारको निर्णय अटेर गर्दै त्रिविमा बिहीबार तोकिएका परीक्षा सञ्चालन भए।
एकातिर सरकारले एसइईसहित विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको निर्णय गर्नु र अर्कोतिर उपकुलपतिले परीक्षा स्थगित नहुने अडान लिनु र त्रिविमा परीक्षा नै सञ्चालन हुनुले विद्यार्थी अन्यौलमा परे।
अन्यौलताका बीच त्रिवि कार्यकारी परिषदको बैठकले बिहीबार सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। त्रिविले सरकारी निर्णयको १८ घण्टापछि बिहीबार दिउँसो आधिकारिक सूचना जारी गरेर तत्काललाई सम्पूर्ण परीक्षा स्थगित गरिएको जानकारी दिएको छ। सरकारी निर्णयदेखि नै दोधारमा रहेका विद्यार्थी बल्ल ढुक्क भएका छन्। त्रिविले भोलि शुक्रबारदेखि लागु हुनेगरी परीक्षा स्थगित गरेको व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्। उनका अनुसार पठनपाठन पनि बन्द गरिएको छ।