PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

दक्षिणतर्फका नाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय



कुञ्जरमणि भट्टराई

दक्षिणतर्फका नाकामा कडाइ गर्ने प्राधिकरणको निर्णय

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले दक्षिणतर्फका सीमानाकामा कडाइ गर्ने निर्णय गरेको छ। सीमा व्यवस्थाबारे भारतको पदाधिकरणसँग छलफल भइरहेको र त्यसको खाका बेलुकीसम्म आइपुग्ने जानकारी दिइएको थियो।

गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकले खुला सीमा नाका भएकाले दक्षिणबाट भाइरस भित्रिन सक्ने भन्दै त्यसमा कडाइ गर्नुपर्ने निर्णय गरेको हो। मालपोत, विद्युतको महशुल तिर्ने, पानीको बिल तिर्ने ठाउँ, यातायात लगायतमा हुने भिडभाड कसरी कम गर्ने भन्ने विषयमा उच्चस्तरीय समितिबाट निर्णय गरिने भएको छ।

दक्षिण नाकाको जाँचमा कडाइ गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए। आपतकालिन कार्य सञ्चालन केन्द्र चौविसै घण्टा सञ्चालन गरिने समेत उनले बताए।

त्यस्तै बैठकमा सीमाका १३३ हेल्प डेस्कमार्फत करिब ३ लाख १० हजार जनाको जाँच गरिएको आइजिपी ठाकुर प्रसाद ज्ञवालीले जानकारी दिएका थिए। जसमा १ लाख नेपालीको जाँच गरिएको थियो। जाँच गरिएकामध्ये ६० जनामा ज्वरो भेटिएको थियो। जसमा ५६ जना भारतीय र ४ नेपाली रहेको उनले बताए। ज्वरो देखिएका ३ जना नेपालीलाई घर फर्काइयो भने १ जनाको उपचार हुँदैछ। हाल भारतीय नागरिकलाई पनि नेपाल प्रवेशमा रोक लगाइएको आइजिपी ज्ञवालीले बताए।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री वसन्त नेम्वाङ, सुरक्षा निकायका प्रतिनिधिहरु, मन्त्रालयका सचिवहरुको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell