PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

भारतको जम्मुमा फसे ६० नेपाली, वैष्णोदेवी दर्शन गर्न हिँडेका सबैलाई १४ दिनको 'क्वारेन्टाइन'



राधेश्याम पटेल

भारतको जम्मुमा फसे ६० नेपाली, वैष्णोदेवी दर्शन गर्न हिँडेका सबैलाई १४ दिनको 'क्वारेन्टाइन'

वीरगंज : वीरगंजबाट भारतको वैष्णोदेवी दर्शनका लागि गएका ६० भन्दा बढी तीर्थयात्री कोरोना भाइरसको संक्रमण बढेका कारण भारतको कटरामा फसेका छन्।

वीरगंजबाट फागुन २४ गते हिँडेका तीर्थयात्रीलाई ३ दिन देखि कटरामा भारतीय प्रहरीले उच्च निगरानीका साथ क्वारेन्टाइनमा राखेको छ।

जम्मु कश्मीर क्षेत्रको कटरासम्म रेलबाट पुगेका नेपाली तीर्थयात्रीलाई वैष्णोदेवी मन्दिर जाने मुख्य नाका कटरामा राखिएको वीरगंजका अवधेशकुमार मिश्रले जानकारी दिए।

तीर्थयात्राका लागि वीरगंज – ७ रामटोलबाट अवधेशकुमार मिश्र, सुनीता देवी मिश्र, वीरगंज ११ का महेन्द्र कर्ण, हृदय नारायण कर्ण लगायत वीरगंज मुर्ली, मिथिला नगरबाट गरी ६० जना भन्दा बढी तीर्थालु फसेका हुन्।

उनीहरुलाई कटरा रेल्वे स्टेशनमा उत्रिनासाथ भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। र, ३ दिनदेखि सबैको नियमित स्वास्थ्य परीक्षण गर्दै भारतीय प्रहरीले स्थानीय धर्मशालामा उनीहरुलाई राखेको छ।

सुरक्षाकर्मीको निगरानीमा चिकित्सकले ज्वरो, रुघाखोकी तथा उच्च रक्तचापको परीक्षण गरिरहेको छ। आफूहरुमाथि कुनै किसिमको दुर्व्यवहार नभए पनि ३ दिनदेखि रोकिँदा समस्या परेको मिश्रले बताए।

उनीहरुलाई १४ दिनपछि मात्रै छाड्ने भारतीय प्रहरीले बताएको छ। नियमित रुपमा जाँच गर्दै खानापानको व्यवस्था समेत भारतीय प्रहरीले मिलाएको छ। तर, एकै ठाउँमा बस्नुपर्ने बाध्यताले समस्यामा परेको मिश्रले सुनाए।

कटरामा फसेका राजेश तिवारीका अनुसार मार्च ९ देखि मार्च २७ सम्म १४ दिनको लागि उनीहरुलाई यसैगरी राखिने छ। अनि जाँचमा नेगेटिभ पाइयो भनेमात्र भारत सरकारले उनीहरुलाई नेपाल फिर्ता पठाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell