
काठमाडौं : सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले कोभिड-१९ का कारण वैदेशिक रोजगारमा जान नपाएका युवाहरुका लागि स्वेशमा नै उपयुक्त अवसर दिने बताएका छन्।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड-१९ को संक्रमण हुन सक्ने जोखिमलाई हेरेर विदेश जान र विदेशबाट आउन रोकिएको भन्दै श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी उपलब्ध गराउने बताएका हुन्।
उनले भने, ‘वैदेशिक रोजगारीमा जान नपाउनु भएकाहरु स्वेशमा नै रोजागारी चाहनु हुन्छ भने श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएर उपलब्ध कामका अवसरमा आउन आब्हान गर्दछु। हामीले सार्वजनिक निर्माणमा रोजगारी उपलब्ध गराउँछौं।’
मन्त्री खतिवडाले सानो ठूलो काम नभन्न पनि आग्रह गरेका छन्। श्रमको अवसर जुटाउन सो कुरा लागू गर्न छलफल अघि बढिसकेको उनले बताए। उनले रोजगारीको अवसरमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको पनि बताए। वैदेशिक रोजगारीमा जान रोकिए पनि तत्कालै वित्तीय प्रभाव पार्ने अवस्था नरहेको पनि उनको भनाइ थियो।
मन्त्री खतिवडाले आर्थिक क्षेत्रमा जम्मा तीन प्रतिशत मात्र असर पार्ने तर्क पनि अगाडि सारे। नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहेकाले असर पनि त्यति मात्रै हुने उनको तर्क छ। उनले पर्यटन क्षेत्र प्रभावित हुँदा समग्र अर्थतन्त्रमै असर पर्छ भन्ने हिसाबले अहिले ठाडो अनुमान लगाउने काम भइरहेको भन्दै नआत्तिन आग्रह गरेका छन्।
उनले गत फागुनको तुलनामा यसपालीको फागुनमा आयात ४ प्रतिशतले बढेका कारण औद्योगिक कच्चा पदार्थको अभाव नहुने बताए।
रसुवा र तातोपानी नाका रोकिए पनि स्वास्थ्य समस्या समाधान गरेर खोल्न सकिने बताए। त्यस बारेमा सरकारका निकायबीच छलफल भइरहेको बताउँदै उनले पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जानकारी दिए। निर्माणमा अलिकति समस्या रहेको भन्दै उनले विदेशी कामदारहरु स्वास्थ्य जाँच गरेर काममा फर्किने वातावरण बनाइदिन आग्रह गरिरहेकाले त्यो पनि चाँडै सहज हुने बताए।
मन्त्री खतिवडाले कोरोनाले प्रभाव पार्ने केही उद्योगहरुको कर तिर्ने समय पछाडि सार्ने बिषयमा छलफल गरिरहेको बताए। उनले उद्योगको प्रकृति फरक फरक भएकाले कसरी पर सार्ने भनेर निर्णय गर्न केही छलफल गर्नु परेकाले समय लागेको बताए।
उनले कोरोनाले पर्यटन क्षेत्रलाई छिटो प्रभावित गरेको भन्दै हवाइ यातायात र होटलका साथै यससँग सम्बन्धित ट्राभल ट्रेकिङ, पर्यटकलाई केन्द्रित गरेर खुलेका हेन्डिक्राफ्ट, रेष्टुरेन्ट र पसलहरु बढि प्रभावित भएको बताए।
‘हामी छिट्टै यो सन्त्रासबाट मुक्त हुन्छौं’, खतिवडाले भने, ‘फेब्रुअरी र मार्चको सिजनमा आउने पर्यटनमा क्षति पुगेको छ। यसको भरपाई गर्न अफ सिजनमा पर्यटक ल्याउने रणनीति बनाउन थालेका छौं।’