विराटनगर : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न प्रदेश नं १ सरकारको कार्य योजनामा सेनाले मोरङको टाँडीस्थित सूर्यदल गणको सुरक्षा गुल्म परिसरमा २ सय शय्या क्षमताका क्वारेन्टाइनस्थल निर्माण गरेको हो।
नेपाली सेना पूर्वी पृतना हेडक्वार्टरको पहलमा क्वारेन्टाइन स्थल निर्माण गरिएको हो।
पूर्वी पृतनाले प्रकाशित गरेको विज्ञप्तिमा न्यूनतम स्वास्थ्य मापदण्ड कायम गर्नेगरी निर्माण गरिएको क्वारेन्टाइनमा प्रत्येक पालभित्र २/२ जना अट्ने शय्या राखिएको उल्लेख गरिएको छ। पालको दूरी ५ मिटरको फरकमा छ।
क्वारेन्टाइनमा २५ वटा ट्वाइलेट/बाथरुम छन्। उक्त क्वारेन्टाइन यसअघिको रत्न सकुन्त जनमुक्ति सेना क्याम्प २ हाल अर्जुन वाण गणमा बनाइएको हो।
क्वारेन्टाइनका बारेमा २ नं वाहिनी अड्डाका वाहिनीपति सहायक रथी यमप्रसाद ढकाल र सैनिक अस्पताल इटहरीका डा. सरिता केसीले जानकारी गराए।
त्यस्तै, झापाको कलबलगुडी भद्रपुरस्थित ग्रामीण कृषि परीक्षण तालिम केन्द्रमा ४० शय्या र उदयपुर जिल्लाको कटारीमा २ सय शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ।