PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सयौँ सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा छैन कोरोनाविरुद्धको सतर्कता



राधेश्याम पटेल

सयौँ सेवाग्राहीको भिड हुने सरकारी कार्यालयमा छैन कोरोनाविरुद्धको सतर्कता

वीरगंज : सरकारले एकै ठाउँमा २५ जना भन्दा बढिको संख्यामा भिडभाड नगर्नु भनेर निर्णय गरिसकेको अवस्थामा वीरगंजका केही सरकारी कार्यालयहरुले उक्त निर्णयको उल्लंघन गरिरहेको छन्। वीरगंजका एक दर्जन बढी कार्यालय तथा बैंकहरुमा सयौंको भिडभाड अहिले पनि कायमै छ।

यातायात व्यवस्था कार्यालयको लाइसेन्स शाखामा बिहीवार बिहान करिब ३ सय जनाको सवारी चालक अनुमति पत्रको लागि लिखित परीक्षा लिएको सेवाग्राहीहरुले जनाएका छन्।

सरकारले सामुदायिक तथा निजी विद्यालय बन्द गर्नुको साथै सबै तहका परीक्षा समेत स्थगित गरिसकेको अवस्थामा वीरगंजका ती कार्यालयहरु सञ्चालन हुँदा र सेवा प्रवाह भइरहँदा कोरोनाको संक्रमणको जोखिम बढेकोप्रति सेवाग्राहीले आपत्ति जनाएका छन्। एकातिर सरकारले भिडभाड नगर्नु भन्ने अर्को तिर आफै कार्यालय चलाएर सेवा दिने काम गलत भएकोले सेवाग्राहीले आपत्ति जनाएका हुन्।

वीरगंज-२१ परवानीपुरका प्रविण कुशवाहाले सरकारले सबै क्षेत्रमा सजगता अपनाइरहेको अवस्थामा यातायात कार्यालयले लापारबाही गरिरहेको गुनासो गरे।

उनले भने, ‘एकातिर सरकारले माध्यमिक शिक्षा परीक्षा लगायतका परिक्षा स्थगित गरिसक्यो, अर्को तिर सरकारी कार्यालयमा सयौँको भिडभाडमा परीक्षा लिइरहेको छ, कसैलाई रोग सयो भने कसले जिम्मा लिने?’

उनले भारतमा ३ जनाको मृत्यु भइसकेको र १६८ जनामा कोरोनाको संक्रमण देखिसकेको अवस्थमा खुला सिमानाको कारण वीरगंज शहर नै जोखिममा रहेकोले सरकारी स्तरबाट सजगता अपनाउन सुझाव दिए।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, वीरगंज भन्सार, आइसिपी भन्सार, ड्राईपोर्ट भन्सार, बैंक तथा अस्पतालहरुमा पनि खासै सजगता नअपनाइएको सेवाग्राहीहरुले बताएका छन्। सेवाग्राहीहरुले भिडभाड हुने कार्यालयमा सुरक्षित प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

लाइसेन्स शाखा वीरगंजका प्रमुख सुशिल कुमार साहले बिहीवारको लिखित परीक्षा लिइए तापनि शुक्रवारदेखिको सबै परिक्षा र ट्रायल स्थगित गरिसकेको बताए।

उनले भने, ‘कार्यालयमा दैनिक भिडभाड हुने कुरा जिल्ला प्रशासन कार्यालयमा भएको प्रमुखहरुको बैठकमा राखिसकेको छु। थप उपायको बारेमा भौतिक पूर्वाधार मन्त्रालयलाई पनि पत्राचार गरिसकिएको छ। माथिल्लो निकायको निर्देशन अनुसार अगामी दिनमा काम हुन्छ।’

सिडिओले पाएनन् ‘इन्फ्रारेड थर्मोमिटर’

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले सरकारले कार्यालय बन्द गर्ने पत्राचार नगरेकोले कार्यालय सञ्चालन भइरहेको जनाए।

उनले भने, ‘कोरोनाको प्रभाव र संक्रमणबारे संचेत छु तर सरकारले कार्यालय बन्द गर्न भनेको छैन। मैले पनि एक थान ज्वरो नाप्ने थर्मोमिटर र डाक्टर राख्न लागेको छु। दैनिक अढाई सय जना भन्दा बढीको भिड भइरहेको छ, अरु कार्यालयमा पनि साबुन पानी र यन्त्रको व्यवस्थापन मिलाउन भनेको छु तर समान पाउन गाह्रो छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell