PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दीपकराज गिरी सेल्फ क्वारेन्टाइनमा! कलेज नलाग्दा फूर्सद्मा करिश्मा, कन्सर्ट नहुँदा कलाकारलाई मार



मन्दिरा खत्री

दीपकराज गिरी सेल्फ क्वारेन्टाइनमा! कलेज नलाग्दा फूर्सद्मा करिश्मा, कन्सर्ट नहुँदा कलाकारलाई मार

काठमाडौं : कोभिड - १९ बाट बच्न लागि कलाकारहरुले पनि सतर्कता अपनाउन थालेका छन्। हलिउड, बलिउड कलाकारहरु सेल्फ आइसोलेसनमा बसिरहेका छन्। त्यस्तै बलिउड अभिनेता अमिताभ बच्चनदेखि आलिया भट्ट लगायतका कलाकारहरु संक्रमणबाट बच्न आइसोलेसनमा बसेका छन्।

कोरोनाको प्रभाव नेपाली सिनेमाको छायांकनदेखि प्रदर्शनसम्म परेको छ। त्यसैले पनि अहिले कलाकारहरु फुर्सदमा छन्। अधिकांश कलाकारहरु परिवारको साथमा फुर्सदको समय बिताइरहेका छन्।

यसैबीच कलाकार दीपकराज गिरिले पहिलोपोस्टसँगको कुराकानीमा आफू करिब तीन महिनादेखि क्वारेन्टाइनमा बसिरहेका बताए। उनले भने, 'म लगभग तीन महिनादेखि क्वारेन्टाइनमा छु। तीन महिनादेखि नयाँ फिल्मको स्क्रिप्ट लेखिरहेको छु। बिहानदेखि बेलुकासम्म म घरमै बसेर स्क्रिप्ट लेखिरहेको हुन्छु। अनि बिहान र बेलुका एकछिन चाहि वाकमा निस्किन्छु। त्यसैले म यो भिडभाड र कोरोनाको संक्रमणबाट टाढै छु।'

त्यस्तै गायिका आस्था राउत पनि कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरु सबै सकाएर बसेकी छिन्। होलीको एक साता अघिदेखि नै  आफू घरमा परिवारको साथमा बसिरहेको बताइन्। 'म दुई सातादेखि नै बाहिरको भिडभाडमा त्यति हिडेको छैन्।'  उनले भनिन् 'घरमा परिवारको साथमा बसेको छु। सकेसम्म चाँडो भन्दा चाँडो विश्वभरी फैलिरहेको महामारी कोरोनाको संक्रमण हटोस्।'

त्यसो त आस्थाले कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरु नहुँदा कलाकारहरु मारमा परेको समेत बताइन्। उनले भनिन् 'कन्सर्ट नहुँदा हामी कलाकारहरु मारमा परेका छौं। हामीले दर्शकहरुलाई मनोरञ्जन दिनको लागि कार्यक्रमहरु गर्छौं। तर मानिसको स्वास्थ्यभन्दा ठुलो कुरा अरु केही हुन्न। त्यसैले पनि हामीले त्यस्ता भिडभाडको कार्यक्रम गर्न उचित हुँदैन।'

अभिनेत्री करिष्मा मानन्धर पनि आफ्नो स्वास्थ्यलाई लिएर निकै सचेत छिन्। यसअघि उनले विश्वभर फैलिरहेको कोरोना भाइरसलाई ध्यानमा राख्दै हरेक वर्ष मनाँउदै आफ्नै घरमा आयोजना गर्दै आएको होलीको कार्यक्रम स्थगित गरेकी थिइन्। कोरोनाको संक्रमण बढेसँगै उनले पनि सतर्कता अपनाउन थालेकी छिन्। करिष्मा भन्छिन्, 'घरबाहिर निस्किदा अनिवार्य मास्क स्यानिटाइजर प्रयोग गर्ने गरेको छु। अस्तिसम्म त मेरो कलेज लागिरहेको थियो। हिजोदेखि कलेज, सिनेमा हलहरु सबै बन्द भयो। अहिले फुर्सदमा छु। अब केही समय कोरोनाको संक्रमणबाट बच्न घरमै बस्छु। मुख्य कुरा चाहि कोरोनासँग डराउनुभन्दा पनि सतर्कता अपनाउनु जरुरी छ।"

त्यस्तै अभिनेत्री आँचल शर्मा पनि कोरोनाको संक्रमणबाट बच्न घरमै बसिरहेको बताइन्। उनले भनिन् 'सावधानीको लागि सकेसम्म भिडभाडबाट टाढै बसिरहेको छु। बाहिर जानु परे भने मास्क तथा स्यानिटाइजरहरु प्रयोग गर्छु।'

अभिनेत्री रीमा विश्वकर्मा भने कोरोनाको त्रासका बीच छुट्टी मनाउन माल्दिभ्स पुगेकी छिन्। उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै मानिसहरुलाई घर बाहिर ननिस्न आग्रह गरेकी छिन्। उनले भनेकी छिन्, 'विश्वभर फैलिदै गएको कोरोना भाइरसको त्रासले हामी पनि अछुतो छैनौं । यति बेला डराउने भन्दा पनि आफ्नो सुरक्षा र स्वस्थ्यलाई प्राथमिकता दियौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell