PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

कोरोना रोकथामका लागि प्रदेश २ सरकारको फितलो तयारी, आइसोलेसन वार्डमा बेड मात्रै



राधेश्याम पटेल

कोरोना रोकथामका लागि प्रदेश २ सरकारको फितलो तयारी, आइसोलेसन वार्डमा बेड मात्रै
प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका उपसचिव विजयकुमार झा।

वीरगंज : कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश नम्बर २ सरकारको फितलो तयारी रहेको सरोकारवालाहरुले नै स्वीकार गरेका छन्।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका उपसचिव विजयकुमार झाले प्रदेशका अस्पतालहरुमा आइसोलेसन वार्ड र ठाउँ लोकेट भए तापनि आइसोलेसन वार्डको लागि चाहिने आवश्यक समानहरुको अभावले वार्डको अवस्था दयनीय रहेको बताए।

उनले बिहीवार सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा बैठक बसी प्रदेश २ का विभिन्न अस्पतालमा तोकिएको आइसोलेसन वार्डको लागि चाहिने आवश्यक सामानको लागत इस्टिमेट गरिएको र आवश्यक सामानहरु यथाशिघ्र आपूर्ति गर्ने निर्णय समेत भएको जानकारी दिए।

निर्देशनालयका अनुसार वीरगंजको नारायणी अस्पतालमा ५, नेशनल मेडिकल कलेजमा ५०, धनुषाको रामदईयामा रहेको जानकी मेडिकल कलेजमा ६०, जनकपुरको सिटि अस्पतालमा २०, गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा ३ र जनकपुर प्रादेशिक अस्पतालमा ५ वटा गरी कुल १४३ वटा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ। तर वार्डको लागि चाहिने भेन्टिलेटर, कार्डियक मनिटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिपी) गाउन, मास्क, टोपी, पञ्जा, इन्फ्रारेड थर्मोमिटरलगायत सामानको चरम अभाव रहेको निर्देशनालयले जनाएको छ।

नेपालमा राष्ट्रिय प्रयोगशाला टेकुमा मात्र कोरोनाका संक्रमितको स्वाब जाँच गर्ने व्यवस्थालाई पनि ७ वटै प्रदेशमा व्यवस्था मिलाउनु पर्ने स्वास्थ्यकर्मीहरुको जोड छ। वीरगंज नारायणी अस्पतालका फिजिसियन डा उदयनारायण सिंहले हरेक प्रदेशमा प्रयोगशाला र चिकित्सकलाई चाहिने आवश्यक सामान आपूर्ति गरी सतर्कता अपनाउन आग्रह गरे।

बिना तयारीको आइसोलेसन वार्डको कुनै जरुरी नरहेको पनि चिकित्सकहरुले औँल्याएका छन्। प्रदेश २ मा निर्धारण गरिएका आईसोलेसन वार्डमा बेड बाहेक अरु केही पनि नभएको जनाइएको छ। यहाँसम्मकी कोरोनासँग लड्न चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामग्री लगाएर कसरी उपचार गर्ने बारे तालिम पनि गराइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell