PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस-कम्युनिस्ट सरहको बन्ने लक्ष्य बोकेको राप्रपा : एकतापछि कति बलियो? यस्तो छ गणितीय अवस्था



नेत्र तामाङ

कांग्रेस-कम्युनिस्ट सरहको बन्ने लक्ष्य बोकेको राप्रपा : एकतापछि कति बलियो? यस्तो छ गणितीय अवस्था

काठमाडौं : फागुन २८ गते राष्ट्रिय सभागृहमा राप्रपाको एकता घोषणा भयो। भोलिपल्ट तीनै जना अध्यक्षले पदभार ग्रहण गरे। पदभारपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस कम्युनिस्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यका साथ पार्टी एक भएको दाबी गरे।

वैकल्पिक शक्तिका रूपमा उदाउने भनी दाबी गरिएको पार्टी कांग्रेस र कम्युनिस्ट सरह बन्न कति सजिलो छ?

हेरौँ मुख्य निर्वाचनहरूमा राप्रपाको अंकगणित।

स्थानीय तहमा सातौँ

गएको स्थानीय तहको निर्वाचनमा राप्रपाले सातौँ स्थान हासिल गर्‍यो। एमाले र माओवादीको मिलनपछि भने राप्रपा छैटौँ स्थानमा उक्लेको छ। स्थानीय तहका तीन चरणको निर्वाचनमा राप्रपा गाई चुनाव चिह्न लिएर चुनावमा होमिएको थियो। यद्यपि दोस्रो चरणको निर्वाचन सकिएको केही समयमा कमल थापा र पशुपति शमशेर जबरा छुट्टिए।

पहिलो चरणको मतदान २०७४ वैशाख ३१ मा भयो। दोस्रो चरणको २०७४ असार १४ मा भयो। अन्तिम तथा तेस्रो चरणमा २०७४ असोज २ मा भयो।

थापा र पशुपति स्थानीय तहको पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा सँगै थिए। तेस्रो चरणमा प्रदेश २ का ८ जिल्लामा निर्वाचन भयो। प्रदेश २ मा राप्रपाको सन्तोषजनक उपस्थिति नभएकोले यो फुटले निर्वाचन परिणाममा पनि खासै असर गरेन।

निर्वाचनकै दौरानमा फुट

२०७३ मंसिर १ मा कमल थापा र पशुपति शमशेरको राप्रपाबीच एकता पनि भयो। त्यही वर्षको चैत १६ मा डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) घोषणा भयो।

हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनालाई नै मूल लक्ष्य बनाएर उनी मूल पार्टीबाट अलग भएका थिए। स्थानीय निर्वाचनको दोस्रो चरण सकिएको असार १४ मा। २०७४ साउन २२ गते थापा र शमशेर पनि अलग अलग भए।

यता, राष्ट्रिय सभागृहमै २०७५ माघ १८ गते पशुपति शमशेरले प्रकाशचन्द्रलाई आफ्नो पार्टीमा भित्र्याए। एकीकरण भएर राप्रपा संयुक्त बन्यो। यसरी टुटफुट भएको पार्टी राप्रपा संयुक्त र राप्रपाबीच फागुन २८ मा एकता भएको हो।

को विजयी भए स्थानीय तहमा?

राप्रपाले एक उपमहानगरपालिका प्रमुख र चार गाउँपालिका अध्यक्षसहित ५ स्थानीय तह जितेर त्यतिबेला सातौँ स्थानमा आफूलाई उभ्याएको थियो।

राप्रपाले पाँच स्थानीय तहमा प्रमुख निर्वाचन जित हासिल गर्‍यो। जसमध्ये सबैभन्दा धेरै त झापामा। झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलम र उपाध्यक्ष निमसरी राजवंशी राप्रपाबाट निर्वाचित हुन्। झापाकै गौरीगञ्ज गाउँपालिकामा बाबुराजा श्रेष्ठ निर्वाचित भए। हल्दीवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन राप्रपाका हुन्।

यता धादिङस्थित रुबीभ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङ र उपाध्यक्ष बिना लामा राप्रपाबाटै निर्वाचित हुन्।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर जबरा, रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्षमा शिवकान्ती चमार, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कुञ्जाङ बुढा, डोल्पाकै ठूलीभेरी नगरपालिकाको उपप्रमुखमा योगेन्द्रबहादुर शाही, बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का छन्। वडाध्यक्ष ५९ जना छन्।

राप्रपाको स्थानीय तहमा उपस्थिति

स्थानीय तह

मेयर

उपमेयर

अध्यक्ष

उपाध्यक्ष

कचनकवल गाउँपालिका झापा

 

 

 

अञ्जरा आलम

 

हल्दीवारी गाउँपालिका झापा

 

 

रवीन्द्रप्रसाद लिङ्देन

निमसरी राजवंशी

 

गौरीगञ्ज गाउँपालिका झापा

 

 

बाबुराजा श्रेष्ठ

 

रुबीभ्याली गाउँपालिका धादिङ

 

 

 

चेरुङ तामाङ

बिना लामा

नेपालगञ्ज उपमहानगरपालिका बाँके

धवल शमशेर जबरा

 

 

 

 

काइके गाउँपालिका, डोल्पा

 

 

 

 

कुञ्जाङ बुढा

ठूलीभेरी नगरपालिका डोल्पा

 

योगेन्द्रबहादुर शाही

 

 

बेनी नगरपालिका, बागालुङ

 

सञ्जु बरुवाल

 

 

 

बागलुङ नगरपालिका, बागलुङ

 

सुरेन्द्र खड्का

 

 

 

रोहिणी गाउँपालिकाका, रुपेन्देही

 

 

 

शिवकान्ती चमार

प्रदेशमा कति?

प्रदेश सभामा राप्रपाबाट चार सदस्य छन्। रीना गुरुङ र रीता माझी। दुबै बागमती प्रदेशमा। भरतपुरको उपमेयरमा हारेलगत्तै राप्रपा प्रजातान्त्रिकले पाएको एकमात्र प्रदेशसभा सदस्यमा पर्न सफल भइन् रीना।

प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही राप्रपाबाट सदस्य छन्।

प्रतिनिधि सभामा एक्लै

प्रतिनिधि सभामा झापाबाट राजेन्द्र लिङ्देन एक्ला निर्वाचित हुन्। उनले झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरी निर्वाचन जितेका हुन्।

राप्रपाका तीन अध्यक्षमध्ये दुई अध्यक्ष कांग्रेससँगको गठबन्धनका बाबजुद पनि चुनावी मैदानमा पराजित भएका थिए। मकवानपुर १ बाट उम्मेदवार रहेका अध्यक्ष कमल थापा तत्कालीन एमालेका कृष्णप्रसाद दाहालसँग ६ हजार मतान्तरले हारे। अर्का अध्यक्ष पशुपति शमशेर सिन्धुपाल्चोक २ मा तत्कालीन एमालेकै शेरबहादुर तामाङसँग ८ हजार मतान्तरले हारे। अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनी चुनावी मैदानमै उत्रिएनन्।

दुई मिल्दा पनि बन्न सकेन राष्ट्रिय दल

राप्रपाले प्रतिनिधि सभामा एक लाख ९६ हजार ७८२ मत पाएको थियो भने राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ मत पाएको थियो। यता, आयाताकारभित्रको हलो चुनाव चिन्ह लिएर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) २८,८२८ पायो। यो मत जोड्दा तीन लाख १३ हजार ९८७ मत हुन्छ। जुन विवेकशीलको भन्दा बढी हो।

कूल सदर मतको तीन प्रतिशत र प्रत्यक्षमा एक सिट जित्ने दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ। यसो हुँदा प्रतिनिधि/प्रदेश सभा सदस्य निर्वाचनमा तीन प्रतिशत मत पुर्‍याउन कम्तीमा पनि तीन लाख मत आवश्यक थियो। तीन दलको मत जोड्दा तीन लाख कटे पनि यो मत नियमत गणना नहुने भएकाले राष्ट्रिय दल बन्ने मौकाबाट राप्रपा चुक्यो।

कूल ९५ लाख ४४ हजार ७७९ सदर भएको थियो।

प्रदेशमा भने राप्रपाले ५७ हजार ३४२ मत पाउँदा राप्रपा प्रजातान्त्रिकले १६ हजार १७१ मत पाएको थियो। यो मत जोड्दा ७३ हजार ५१३ हुन्छ।

धरौटीसमेत जफत

दोस्रो संविधान सभामा समानुपातिक मतबाटै चौथो ठूलो दल बनेको राप्रप्राले प्रतिनिधि सभाको निर्वाचनमा पनि सातौँ स्थानमा चित्त बुझाएको थियो। थ्रेसहोल्ड कटाउन नसक्दा धरौटी जफत भयो। सदर मतको कम्तीमा तीन प्रतिशत मत नल्याउने दलको जमानत जफत हुने कानुनी व्यवस्था छ।

थापा खलककै अविश्वास

राप्रपामा थापा र चन्द विरासतको राज चल्दै आएको थियो। पछिल्लोपटक कमल थापाले नेतृत्व थालेपछि भने थापा खलकको विरासत थाम्दै आएका सूर्यबहादुरकै छोरा सुनिल थापाले एकतामा असन्तुष्टि जनाएका छन्। उनीमात्र हैनन् उनी पक्षमा रहेका विष्णुविक्रम थापालगायत नेताहरूले कांग्रेस प्रवेशको तयारीमा रहेको चर्चा पनि चुलिएको छ। तर पद व्यवस्थापनका लागि सुनिल थापा गुटले बार्गेनिङ गरेको हुनसक्ने राप्रपाकै नेताहरू बताउँछन्। थापा समूहमा नवराज सुवेदी, पदमबहादुर बस्नेत, राम थापालगायत नेताहरू छन्।

नारामात्र देखाएर बन्दैन प्रमुख राजनीतिक दल

एकतापछि राप्रपाका नेता कार्यकर्तामा आशा छाएको देखिन्छ। यद्यपि केही नेता भित्र्याउनेबाहेक खासै पार्टीको साइज बढ्ने अवस्था भने नदेखिएको राप्रपाकै एक नेताले बताए। राजसंस्था र हिन्दु राष्ट्रको नाराले स्थानीय तहमा खटिएका कार्यकर्ताको मुख बन्द गरिदिएको उनको धारणा रह्यो।

उनीहरूले पार्टीले लिएको लक्ष्य र नाराको प्रतिवाद गर्न सकिरहेका छैनन्। यस्तो अवस्थामा पार्टीले राजसंस्था र हिन्दु राष्ट्रबारे प्रशिक्षण दिने र जनतालाई आश्वस्त पार्न सक्नुपर्ने केन्द्रीय नेताहरू नै बताउँछन्। पछिल्लपटक 'पद लोभी' हरुको भीड पार्टीमा पनि भएकोले यसलाई व्यवस्थापन गर्नु नेतृत्वको चुनौती रहेको उनीहरूको भनाई छ।

धनाढ्य र पूर्वपञ्चहरुको पार्टी भनेर लागेको ट्याग हटाएर सामान्य जनताले पनि राप्रपाको राजनीतिमा प्रवेश गर्न सक्छन् भन्ने विश्वास दिलाउन नेतृत्वले अझ अभ्यास गर्नुपर्ने देखिन्छ। राप्रपा वैकल्पिक शक्तिका रूपमा उदाउने देखिए पनि कांग्रेस कम्युनिस्ट सरह नै पुग्ने अध्यक्ष थापाको भनाइमा भने कतिपय केन्द्रीय नेताहरू नै विश्वस्त देखिएनन्। पार्टीको अहिलेको साइज त माथि नै स्पष्ट छँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell