कोरोना भाइरसको त्रास बढेसँगै मास्क किन्नेको भिड लाग्न थालेको छ। कालो बजारी गर्नेहरुले लुकाएर राखेको धेरै परिमाणको सर्जिकल मास्क प्रहरीले जफत गरेपछि वितरणका लागि सरकारी तथा सामुदायिक औषधी पसललाई जिम्मा दिएको छ।
महाराजगञ्जमा रहेको साझाको औषधी बिक्री कक्षमा आज बिहानैदेखि भिड लागेको थियो। सरकारले २५ जनाभन्दा बढी मानिस भेला हुन समेत निषेध गरेको अवस्थामा मास्क लिनकै लागि ठूलै भिड देखिन्थ्यो। मास्क बिक्री गरिरहेको साझाले भिड बढेपछि प्रहरीको सहयोग लिन परेको थियो।
यतिसम्म कि साझाको वितरण कक्षमा चिकित्सकहरु पनि एप्रोन सहित मास्क लिन पुगेका छन्।
भिड अत्याधिक भएपछि साझा औषधि वितरण कक्षमा चेन गेट लगाएर एक जनामात्र पस्न मिल्ने बनाइएको थियो। अस्पताल प्रवेशमा समेत सुरक्षा कडा पारिएको छ। शिक्षण अस्पतालमा पुग्नेलाई मास्क लगाएर मात्र आउन भनिएपछि यहाँ भिड बढेको हो।
आजैबाट अस्पताल जानेलाई ज्वरो परीक्षण गरेर मात्र भित्र छिर्न दिन थालिएको छ।