
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरेवापत लिइने कक्षा स्थगित गरेको छ। विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न सतर्कता अपनाउने क्रममा महाशाखाले सचेतना कक्षा स्थगित गरेको हो।
मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिँदै आएको सचेतना कक्षा तत्काललाई स्थगित गरिएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ।
महाशाखाले उपत्यकाका मुख्य बसपार्क र भिडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनमा हुने भिडभाड कम गराउने गरि शुक्रबारबाट प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटाएको छ। उक्त टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, मास्क लगाएर यात्रा गर्न, भिडभाड नगर्न अनुरोध गर्नेछ।
विशेष अभियानका लागि महाशाखा तथा मातहतका ट्राफिक कार्यालयबाट उपत्यकाको ८६ स्थानमा २ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ।
अत्यावश्यक अवस्थामा मात्र मापसे चेकिङ
ट्राफिक महाशाखाले दैनिक रूपमा हुदैँ आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाएको छ। सवारी चालकलाई मापसेलगायत अन्य ट्राफिक नियम उल्लङ्घन नगर्न महाशाखाले अनुरोधसमेत गरेको छ।
त्यसैगरी महाशाखाले सार्वजनिक सवारीलाई कोरोना भाइरस संक्रमणमुक्त गर्नेगरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे/नगरेको र सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको अनुगमन तीव्र पारेको छ।
महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए। एसपी श्रेष्ठले भने, ‘ट्राफिक महाशाखाको मूलगेट अगाडि बाल्टिनमा पानी र साबुन राखिदिएका छौं। ज्वरो नापेर र हात धोएर मात्र भित्र जानुहोला भन्ने सूचना समेत मूलगेट अगाडि राखेका छौं। कार्यालयमा प्रहरी कर्मचारी होस् वा सेवाग्राही आगन्तुकलाई साबुन पानीले हात धोएर मात्र भित्र प्रवेश गर्ने व्यवस्था मिलाएका छौं।’ उनका अनुसार महाशाखाका मातहतका ट्राफिक कार्यालयहरूमा पनि आज विहानैदेखि साबुन–पानीले हातधुने व्यवस्था मिलाउन निर्देशन गरिएको छ।
'यात्रु तथा सडक प्रयोगकर्तालाई लक्षित गरी कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहनको लागि विशेष अभियानमा ट्राफिक प्रहरी परिचालित गरिसकेको छ, यसमा नागरिक पनि त्यत्तिकै सचेत हुन जरूरी छ', श्रेष्ठले भने।