
काठमाडौं : बैंकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलिने निर्णय गरेको छ। बिहीवार बसेको बैंकर्स संघको बैठकले शुल्क नलिने निर्णय गरेको हो।
विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। केही समयलाई मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क लाग्ने छैन।
संघले नगदको कारोबार सकेसम्म कम गर्ने उपाय गर्ने निर्णय गरेको छ।
बैठकपछि कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीसँग पनि संघका पदाधिकारीहरुले छलफल गरेका थिए। छलफलले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। वित्तीय सेवा निरन्तर दिइरहने निर्णय राष्ट्र बैंकमा भएको हो।
राष्ट्र बैंकका कामु गभर्नर शिवाकोटी र कार्यकारी निर्देशकहरुमा कोरोनाका कारण पर्यटन क्षेत्र र रेमिटेन्समा असर परिसकेको विषयमा छलफल भएको थियो। यसबाट बैंकिङ क्षेत्रमा के कस्तो असर पर्छ भनेर छलफल गरिएको थियो।
‘ऋण लगानीका बारेमा सामान्य छलफल भएको हो। मुख्य विषय सतर्कता नै थियो’, संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने, ‘ऋण भुक्तानीमा समस्या आए के गर्ने भन्ने बारेमा सामान्य छलफल मात्र भएको छ।’
छलफलमा शिवाकोटीले कोरोनाका कारण के कस्तो असर गर्छ र कसलाई कस्तो सहुलियत चाहिने हो भन्ने बिषयमा अध्ययन गर्न संघलाई निर्देशन दिएका छन्। संघले अध्ययन गरेपछि आवश्यक निर्णय गरिने भएको छ।
अहिले बैंकिङ सेवा सञ्चालनमा राखिने भएको छ। सरकारले सबै क्षेत्र बन्द गरेपछि मात्र बैंकहरु पनि बन्द हुने छन्। छलफलमा बैंकर्स संघको कार्य समिति गएको थियो।