
काठमाडौं : बिश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड १९ (कोरोना) भाइरस संक्रमण रोक्न ट्राफिक प्रहरी प्लेकार्ड बोकेर सडकमा उत्रिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरेको छ। जसमा यात्रुको सुरक्षालाई महत्व दिइएको छ।
यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य बसपार्क र भिडभाड हुने स्थानमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन प्लेकार्ड सहितको ट्राफिक प्रहरी टोली शुक्रबारदेखि खटाइएको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए। 'टोलीले सीट क्षमताअनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन', उनले भने।
उनका अनुसार महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूवाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरेर यो विशेष अभियान सञ्चालन गरिएको हो।
त्यस्तै सार्वजनिक सवारी साधनलाई कोरोना भाइरस संक्रमणमुक्त गर्नेगरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे/नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ।