PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रहरीले बन्द गरायो विराटनगरको एकमात्र जुवाघर ‘सिएमजी क्लब क्यासिनो’



अनन्तराज न्यौपाने

प्रहरीले बन्द गरायो विराटनगरको एकमात्र जुवाघर ‘सिएमजी क्लब क्यासिनो’

विराटनगर : मोरङ प्रहरीले होटल रत्नाले सञ्चालन गरिरहेको क्यासिनो बन्द गराएको छ। क्यासिनोमा भारतीय मात्र आउने भएकाले कोरोनाको संक्रमण उच्च हुने भन्दै ‘सिएमजी क्लब क्यासिनो’ बन्द गराएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर ऋषिराज ढकालको नेतृत्वमा शुक्रवार मध्याह्न पुगेको प्रहरी टोलीले जुवा खेलिरहेका ग्राहकलाई निकालेर क्यासिनो बन्द गराएको थियो।

‘क्यासिनोमा सञ्चालकलाई ताल्चा लगाउन लगाएर हामी फर्कियौँ’, इन्सपेक्टर ढकालले भने, ‘अर्को सूचना नभएसम्म सञ्चालन नगर्न भनेका छौँ।’

होटल रत्नासँग घर बहालमा लिएर काठमाडौंका नरेन्द्र शाहले २०६५ पुसदेखि क्यासिनो सञ्चालन गर्दै आएका छन्। होटल रत्ना २०७१ असोजमा नयाँ भवनमा सरेपछि पनि क्यासिनो निरन्तर सञ्चालनमा आइरहेको छ।

चौबीसै घण्टा चल्ने उक्त क्यासिनोमा प्रतिदिन २ सय भन्दा बढीले जुवा खेल्दै आएका थिए। यस क्यासिनोमा एक पटकमा ६० जना खेल्न सक्छन्।

क्यासिनो बन्द गर्न आफैँले प्रहरीसमक्ष अनुरोध गरेको रत्नाका सञ्चालक रेवतबहादुर थापाले दावी गरे।

थापाले भने, ‘पर्यटन विभागदेखि प्रहरीसम्म मैले नै क्यासिनो बन्द गराउन पत्राचार गरेको हुँ।’

सिएमजी क्यासिनो क्लब विराटनगरको एकमात्र वैधानिक जुवाघर हो।

विराटनगरमा होटल स्वागतमले २०६५ सालदेखि नै सञ्चालन गरेको क्यासिनो २०७३ मा बन्द भएको थियो।

गीतगजल पनि बन्द हुने

शुक्रवार साँझदेखि नै मोरङ प्रहरीले विराटनगर महानगरपालिका क्षेत्रका सबै गीतगजल रेस्टुरेन्ट बन्द गराउने भएको छ।

मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार गीतगजल रेस्टुरेन्टमा धेरैजसो भारतीय ग्राहक आएको पाइएको हुँदा बन्द गराउनु परेको हो।

विराट होटल व्यवसायी संघका अध्यक्ष एवम् होटल मुनका सञ्चालक विजय प्रसाईंले विराटनगरका गीतगजल बन्द गर्नुपर्ने कुनै कारण नभएको जिकिर गरे।

‘सरकारले डान्स बार मात्र बन्द गर्ने भनेको छ’, अध्यक्ष प्रसाईंले भने, ‘विराटनगर महानगरपालिकाभरी एउटै पनि डान्स बार छैनन्। त्यसैले गीतगजल बन्द गर्नुको औचित्य छैन।’

उनले विराटनगरमा १७ वटा गीतगजल रेस्टुरेन्ट भएको जानकारी दिँदै बन्द भएपछि २ सय ५० भन्दा बढी कामदार बेरोजगार हुने दावी गरे।

‘एक/दुई हप्तायता पहिलेजस्तो भिड थिएन, एक/दुई वटा टेबुल लाग्दै आएका छन्’, प्रसाईंले भने, ‘तिनै एक/दुई टेबुलबाट संकलित रकमले हामी कामदार पाल्दै आएका थियौँ। अब त्यो पनि बन्द भयो।’

प्रसाईंले विराटनगरका होटलले २ हप्तायता १० देखि २० प्रतिशत अक्कुपेन्सीमा काम गरिरहेको जानकारी दिए।

‘विराटनगरमा पर्यटकस्तरीय होटलमा ७ सय व्यक्ति बास बस्न सक्छन्’, उनले भने, ‘तर १५ दिनयता अक्कुपेन्सी १० देखि १५ प्रतिशतमा झरेको छ। जबकि सामान्य अवस्थामा विराटनगरका होटलको अक्कुपेन्सी ६० प्रतिशत रहँदै आएको थियो।’

प्रसाईंले विराटनगरका रेस्टुरेन्टको बिजनेस पनि ६० प्रतिशतले खस्किएको उल्लेख गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell