PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अस्ट्रेलियाबाट फर्केपछि दीपक बज्रचार्य ब्यान्डसहित 'सेल्फ क्वारेन्टाइन'मा, 'नेपालमा सुरक्षा व्यवस्था फितलो रहेछ'



मन्दिरा खत्री

अस्ट्रेलियाबाट फर्केपछि दीपक बज्रचार्य ब्यान्डसहित 'सेल्फ क्वारेन्टाइन'मा, 'नेपालमा सुरक्षा व्यवस्था फितलो रहेछ'
फोटो : facebook.com/dpakbajra

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका बीच गायक दीपक बज्रचार्य बुधबार अस्ट्रेलियाबाट नेपाल फर्किएका छन्। उनी सांगीतिक कार्यक्रमको लागि रिदम ब्यान्डसहित अस्ट्रेलिया पुगेका थिए। उनी अस्ट्रेलियाबाट नेपाल फर्किए लगत्तै कोरोनाको संक्रमणबाट बच्न 'सेल्फ क्वारेन्टाइन'मा बस्न थालेका छन्।

नेपाल फर्किएसँगै ललितपुरमा छुट्टै घर लिएर आफू ब्यान्ड मेम्बरसहित नयाँ घरमा बस्न थालेको बज्रचार्यले बताए। उनले भने 'हामी ललितपुरमा अलग्गै एउटा घर लिएर सेल्फ क्वारेन्टाइनमा छौं। बिदेशबाट फर्किने जति पनि हुनुहुन्छ नि, उहाँहरु क्वारेन्टाइनमा बसिरहनु भएको छैन। तर सुरुवात आफैबाट गर्नुपर्छ भनेर हामी चाहि संक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा बस्न थालेका हौं। क्वारेन्टाइनमा बस्नुको कारण आफ्नै घर परिवारको स्वास्थ्य र सुरक्षाको लागि त हो।'

त्यसो त उनी दुई महिनाको लागि अस्ट्रेलियाको सांगीतिक कार्यक्रममा निस्किएका थिए। अस्ट्रेलियासँगै न्यूजिल्यान्डमा समेत सांगीतिक प्रस्तुति दिने योजनामा निस्किएको थियो रिदम ब्यान्ड। तर अस्ट्रेलिया गएको दुई साता नबित्दै कोरोनाको त्रासका कारण नेपाल फर्किनु पर्‍यो।

'हामी दुई सातामात्र भएको थियो अस्ट्रेलिया पुगेको,'  उनले भने 'तीनवटा सांगीतिक प्रस्तुति दिएपछि कोरोनाले गर्दा सबै कार्यक्रमहरु पोस्टपोन्ड गर्नुपर्‍यो। अस्ट्रेलियामा अझै पाँचवटा कन्सर्ट र न्यूजिल्यान्डको कन्सर्ट पनि बाँकी थियो। आयोजकले यस्तो अवस्थामा भिडभाडका कार्यक्रम नगर्ने भनेपछि म मेरो ब्यान्ड सहित नेपाल फर्किए। अब कोरोनाको संक्रमण सकिएपछि मात्र अन्य स्टेज कार्यक्रमहरुको लागि निस्किन्छौं।'

सांगीतिक प्रस्तुतिको लागि गएका बज्रचार्यले दुई साता अस्ट्रेलिया बसे। दुई साता अस्ट्रेलियामा बिताँउदा उनले नेपालको तुलनामा अस्ट्रेलियाका मानिसहरु कोरोनालाई लिएर निकै सचेत रहेको पाए।

उनले भने 'अस्ट्रेलिया हाम्रो नेपाल भन्दा निकै विकसित छ। मानिसहरु संक्रमणबाट बच्न सकेसम्म घरबाट निस्किएका छैनन्। क्वारेन्टाइनमै बसिरहेका छन्। त्यहाँको एयरर्पोटमा अस्ट्रेलिया आउने र फर्किने मानिसको तथ्याङक राख्ने गरेको रहेछ। तर नेपालमा त्यस्तो केही सुरक्षा व्यवस्था छैन।'

अस्ट्रेलिया जाँदा पनि स्वास्थ्य सुरक्षाको तयारीका साथ गएको उनले सुनाए। भने, 'स्वास्थ्य भन्दा ठ्लो अरु केही छैन्। अस्ट्रेलिया जाँदा म र मेरो ब्यान्ड मेमबरहरु सबैले संक्रमणबाट बच्न स्यानिटाइजरदेखि ह्यान्ड वास, टिस्यु, मास्क लगायतका सबै सामाग्री बोकेर गएका थियौं।'

स्वास्थ्यसँगै नेपालको विमानस्थलको लापर्वाही देखेर नराम्रो लागेकोसमेत उनले बताए। भन्छन्, 'सरकारले भिडभाड तथा सभा सम्मेलन र २५ जना भन्दा बढी मानिसहरु जम्मा नहुन भनेर आग्रह गरिसकेको छ। अब मुख्य भनेको विमानस्थलमा कडाइ चेक नहुँदा संक्रमित व्यक्तिहरुले कोरोनाको संक्रमण फैलाउने डर हुन्छ। विमानस्थलले कडाइ र स्वास्थय जाँच नगर्दा संक्रमण फैलिन सम्भावना बढी हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell