
नेपालले युरोपसहितका विभिन्न मुलुकहरुबाट विदेशी नागरिकहरु नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ। आज शुक्रवारदेखि लागू हुने गरी लगाइएको यस प्रतिबन्धपछि कोही पनि विदेशी प्रवेश गर्न पाउने छैनन्। यद्यपि भारतबाट भने नेपालीहरु आउन पाउने छन्।
नेपाल सरकारले सतर्कतास्वरुप तेस्रो मुलुकबाट फर्किने नेपालीहरुका लागि पनि सेल्फ क्वारेन्टाइनमा राख्ने जनाएको तयारी गरिरहेको छ।
कोरोना भाइरस (कोभिड-१९) प्रभावित देशहरुबाट विगत १४ दिनमा यात्र गरी आएका व्यक्तिहरु र कोभिड-१९ संक्रमित व्यक्तिहरुको नजिकको सम्पर्कमा आएका व्यक्तिहरुसमेत सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने छ।
यदि तपाईँ कोभिड-१९ को लक्षण देखिएको छ? छ र तपाईँ त्यस्ता व्यक्तिको सम्पर्कमा जानु भएको छ भने तपाईँ स्वास्थ्य संस्थामा जानुहोस् परीक्षणका लागि तपाईँलाई ती स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भए एउटा फारम भराइने छ।
सेल्फ क्वारेन्टाइनमा बस्दा के के गर्ने?
नेपाल प्रवेश गर्ने नाका वा त्रिभुवन विमानस्थलबाट नेपाल प्रवेश गर्दै हुनुहुन्छ वा प्रवेश गरिसकेपछि तपाईँ स्वास्थ्य केन्द्रमा पुग्नु भएको छ भने त्यहाँ तपाईँलाई सेल्फ क्वारेन्टाइन बस्नुपर्ने अवस्थामा भराइने फारममा तपाईँले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएका छन्।
यी नियम तपाईँले पालना गर्छु भनेर सही छाप गर्नुपर्ने छ:
१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछ, र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरी राख्नेछु।
२. म छुट्टै बाथरूम/ शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु।
३. म आफु बस्ने कोठा आफै सफा गर्नेछु।
४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात जावतलाई सीमित गर्नेछु। यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको (वा झ्याल खुला रहने) सुनिश्चित गर्नेछु।
५. म स्वास्थ्य संस्था जानबाहेक अन्य कामको लागि घर बाहिर जाँदिन। म काममा, विध्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन।
६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु, वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु। म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु।
७. मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हने भाँडा, तौली/रुमाल, ओछ्यान, वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन। प्रयोग गरेपछि यी सामानहरू म साबन र पानीले सफासँग धुनेछु।
८. म अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्कलाई कम गर्न सक्दो प्रयास गर्नेछु।
९. यदि अन्य व्यक्तिहरूसँगको सम्पर्कमा आउन पर्दा, म कम्तिमा १ मिटर (३ फिट) को दूरी राख्नेछ र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु।
१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु।
११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठांउमा फाल्नेछ र फाले पछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्मका लागि अफ्ना हातहरू साबुन र पानीले मिचीमिची धुनेछ। रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु।
१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु।
१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाच्नेछ र दिईएको फाराममा रेकर्ड गर्नेछ। मलाई दिईएको निर्देशनअनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछ।
१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु।
१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन। मैले दिएका माथिका उल्लिखित विवरणहरू पूर्ण रूपमा सहि छन्, र गलत वा अपूर्ण विवरणको कारण उत्पन्न हुने कुनै पनि समस्याहरूको लागि म स्वयं जिम्मेवार हुनेछ भन्ने कुरा घोषणा गर्दछु।
सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तिले यी नियम पालना गर्ने पूर्ण प्रतिवद्धता जनाउँदै सहिछाप गर्नुपर्ने छ। त्यस्तै यसको उल्लंघन गर्दा उत्पन्न हुने समस्याको स्वंम नै जिम्मेवार हुने छु भन्दै सहिछाप गर्नुपर्ने छ।