PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नमाज पढ्न नपाएका मुसलमानहरु निराश, तर पैगम्बरको सन्देश : महामारी फैलिन सक्ने ठाउँमा नजाउ

नमाज पढ्न नपाएका मुसलमानहरु निराश, तर पैगम्बरको सन्देश : महामारी फैलिन सक्ने ठाउँमा नजाउ

प्रवीण रानाभाट/पहिलोपोस्ट


मोहम्मद हुसेन राजा हरेक साता शुक्रबार जमलस्थित पञ्च काश्मिरी तकिया अर्थात् कश्मिरी मस्जिद धाउँछन्। किनकि शुक्रबार मस्जिदहरुमा विशेष नमाज पढिन्छ। जुम्मा (विशेष) नमाज पढ्ने दिन उनी साताभर आफूले गरेको कर्म र व्यवहारको समीक्षा गर्छन्। गल्तीका लागि माफी माग्छन् अनि आउँदो साताका लागि 'दुवा' माग्छन्।

आज पनि उनी काश्मिरी मस्जिद पुगे। ६ वर्षीय छोरा नूर अहमद राजालाई डोहोर्‍याउँदै। सधैंजस्तै मस्जिदको ढोकामा मानिसको भिड थियो। जहाँबाट भित्र छिर्न निषेध गरेको त्यहीं पुगेर चाल पाए। ढोकामा टाँसिएको सूचनामा लेखिएको रहेछ – 'कोरोना भाइरसको संक्रमण रोकथामको लागि नेपाल सरकारले २५ जनाभन्दा बढी जम्मा नहुने निर्णय गरेको छ। पञ्च काश्मिरी तकियामा आउने सबैलाई सरकारको निर्णय बमोजिम गर्न अपिल गर्दछौं।'

सूचना विहीबार नै टाँसिएको भए पनि हुसेन लगायत अन्य धर्मावलम्बीले चाल पाएनन् र विशेष नमाजका लागि आए। अचानक सूचना देख्दा अवस्था सामान्य रहेन। ढोका बाहिर रहेर व्यवस्थापन समितिका प्रतिनिधि पर्खिरहेका हुसेन भन्छन्,'यो गलत भयो। समितिले पूर्व सूचना दिएन।'

हालसम्म नेपालमा संक्रमण नदेखिएका कारण तत्काल नमाज नै रोक्नु पर्ने अवस्था नरहेको तर्क गर्छन् उनी। भन्छन्,'असल खराब दुवै अवस्था खुदाले पठाउने हो। त्यसैले अहिलेसम्म खुदा बाहेक अरु केहीसँग डराउनु पर्छ जस्तो मलाई लाग्दैन।'

तर, यस्तो महामारीको अवस्थामा सुरक्षित रहन र खुदाले उपहार स्वरुप दिएको शरीर स्वस्थ राख्न अत्यावश्यक भएको तर्क गर्छन् नेपाल जामे मस्जिद सञ्चालक समितिका सदस्य जफर हुसेन। जामे मस्जिद सञ्चालक समितिले पनि केही दिन अघि नै मस्जिद वरपर र सामाजिक सञ्जालहरुमार्फत् शुक्रबारको विशेष नमाज नहुने जानकारी प्रवाह गरेको थियो। तर, शुक्रबार सयौंको सङ्ख्यामा मानिसहरु आए। स्वयं सेवाका लागि खटिएका तीन जना भन्दा बढीलाई भिड सम्हाल्न हम्मेहम्मे पर्‍यो।

अन्तत: १० बजेअघि जामे मस्जिद बाहिर उपस्थित सबैलाई अनिवार्य मास्क लगाउन निर्देशन दिइयो। मस्जिद क्षेत्र भित्रकै मार्केट बन्द गराइयो। अनि मस्जिदको ढोका खोलियो। भित्र पसेपछि सबैलाई हात खुट्टा धोएर मात्र नमाज पढ्ने ठाउँसम्म प्रवेश गराइयो।

नेपाल जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले पहिलोपोस्टसँग भने,'दश हजारभन्दा बढी मानिस अट्ने ठाउँमा दुई हजारलाई मात्र राखेर नमाज पढ्यौं। आजसम्म कोरोना भाइरसको संक्रमणको मारमा नपरेको हाम्रो देशमा त्यो संकट आइनपरोस् भन्दै दुवा माग्यौं।'

'आफू बचौं अरुलाई पनि बचाऔं' भन्ने नारासहित विशेष नमाज पढ्न जानकारी दिइएको थियो। जामे मस्जिदमा मात्र हरेका साता पाँचदेखि सात हजार धर्मावलम्बी नमाज पढ्न आउने भएकाले सबैलाई व्यक्तिगत रुपमा सूचना प्रवाह गर्न नसकेको सञ्चालन समितिका सदस्य जफर हुसेन बताउँछन्।

नमाज पढेर निस्किएका इम्रान हुसेनले भने,'धर्म गुरु मुफ्ती अबु बकरले पनि घरमै बसेर नमाज पढ्ने अनुमति दिनु भएको छ। अब कोरोना संक्रमण नरोकिएसम्म घरमै बसेर विश्वको लागि कामना गर्छौं।'

अध्यक्षले कुरानमा समेत यस्ता माहामारीबाट सचेत रहन निर्देशन दिइएको बताए। भने,'पैगम्बर मोहम्मदले भन्नु भएको छ यदी कुनै मुलुकमा महामारी फैलियो भने त्यहाँ प्रवेश नगर्नुहोस्। यदी तपाईं भएकै ठाउँमा महामारी फैलियो भने पनि तपाईं घरबाट बाहिर ननिस्कनुस्।'

उनका अनुसार कुरानमा संक्रमित रोग भएकाहरू स्वस्थ मानिसबाट टाढै रहनु पर्ने उल्लेख गरिएको छ।

मोहम्मदले नै मानिसहरुलाई संक्रमणबाट सुरक्षित राख्नका लागि निर्देशन दिएको धार्मिक विश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell