PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

भारतबाट नेपाल छिर्नेहरुको स्वास्थ्य जाँचमा कडाइ, चिकित्सकहरुले भने, ‘सीमा बन्दै गर्नुपर्छ’



राधेश्याम पटेल

भारतबाट नेपाल छिर्नेहरुको स्वास्थ्य जाँचमा कडाइ, चिकित्सकहरुले भने, ‘सीमा बन्दै गर्नुपर्छ’

वीरगंज : वीरगंज नाकाबाट नेपाल भित्रिनेहरुको जाँचमा कडाइ गरिएको छ। सो नाकाबाट कोरोना भाइरसका संक्रमित बिरामी नभित्रिउन भन्ने उद्देश्यले ‘हेल्थ डेस्क’मा शुक्रवारदेखि स्वास्थ्य जाँचमा कडाइ गरिएको वीरगंज महानगरपालिकाका निमित्त प्रमुख तथा स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोले जानकारी दिए।

उनले भारतमा कारोनाको प्रभाव बढ्दै गएपछि खुल्ला सिमानाको कारण भारतबाट आउने अधिकांशको स्वास्थ्य परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिएको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले माथिल्लो र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको बताए।

उनले स्वास्थ्य परीक्षणको काममा सशस्त्र प्रहरी, भन्सार गुल्मका सुरक्षाकर्मीहरुले पनि सघाइरहेको बताए। शुक्रवार बिहान ६ बजेदखि विशेष निगरानी अपनाइएको सशस्त्रको भन्सार गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए।

‘कोही नछुटुन भनेर शंकराचार्य नजिक राखिएको हेल्थ डेस्कले स्वास्थ्य परीक्षण गरिरहेको छ,’ डिएसपी खत्रीले भने, ‘हामीले लाइन मात्र लगाइदिएको हो, माथिल्लो निकायको निर्देशन पनि यस्तै छ, सीमा नाकामा कडाइ गर्नु भन्ने।’

लाइन लगाएर चेकजाच गर्न थालेपछि प्रहरी चौकी ईनार्वादेखि मितेरी पुलसम्म सर्वसाधारण, साइकल, मोटरसाइकल, कार, जीप, भ्यान, ठूला सवारी साधनको भिड लागेको छ।

यसैबीच, स्वास्थ्यकर्मीहरुले नेपाल-भारतको खुला सीमाको कारण भारतबाट जुन बेला पनि कोरोना संक्रमित रोगी नेपाल आउन सक्ने उच्च जोखिम रहेको अवस्थामा सरकारले चाडै निर्णय गर्नु पर्ने वीरगंजका चिकित्सकहरुले जोड दिएका छन्।

वीरगंज नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा अरुण कुमार झाले भने, ‘नेपालमा एउटा पोजिटिभ रोगी आयो भने जटिल एवं त्रसित माहोल पैदा हुन्छ, किनभने नेपाल विकसित मुलुक होइन, यहाँको तयारी कमजोर छ।’

उनले नेपालमा हाल सम्म एक जनामा पोजिटिभ केस फेला परे तपानि उक्त बिरामी ठिक भइसकेको अवस्थामा विश्व स्वास्थ्य संगठनको मानचित्रमा नेपाल मात्र एक मुलुक हरियो देखिरहेको बताए। तर, यसमा खुशी हुनुको सट्टा सरकारले नेपालको दक्षिणी सिमानालाई लक डाउन गर्नु पर्ने धारणा राखे।

उनले फितलो तयारी रहेको नेपालमा कोरोनाको संक्रमण बढेको अवस्था भयावह बन्ने विश्लेषण गरे।

नारायणी अस्पतालका अर्का चिकित्सक तथा नेपाल चिकित्सक संघ नारायणी शाखाका महासचिव उदयनारायण सिंहले यथासिघ्र भारतसँगको नाका बन्द गरी आवश्यक मालवस्तुको उच्च परिक्षण गरेर मात्र ल्याउनु पर्ने तर्क राखे। सर्वसाधारणको आवतजावतमा रोक लगाउँदा कोरोनाको प्रकोपबाट बच्न सकिने चिकित्सकहरुको भनाइ छ।

अहिले भारतसँगका चार नाकाबाट मात्र मानिस आउजाउ गरिरहेका छन्। भारतले यसअघि नै नेपाल भारतको महेन्द्रनगर-बनवासा, भैरहवा-सुनौली, वीरगंज-रक्सौल र काकडभिट्टा-बंगलादेश नाकाबाट मात्र आउजाउ गर्न निर्देशन दिएको थियो।

अहिलेसम्म भारतमा ३ जनाको मृत्यु भइसकेको छ। भारतका विभिन्न राज्यमा १६८ जना भन्दा बढिमा यो रोगको संक्रमण देखिएको छ।

भारतीय रेलको कनेक्टिभिटी रक्सौल सम्म रहेकोले विभिन्न राज्यबाट आउने बिरामी रक्सौल हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेकोले केन्द्र सरकारले यस विषयमा चाडै सीमा बन्द गर्दा उचित हुने प्रदेश नम्बर २ का स्वास्थ्य निर्देशनालयका उपसचिव विजयकुमार झाले सुझाव दिए।

परराष्ट्र मन्त्रालयले यस विषयमा भारतको विदेश मन्त्रालयसँग पहल गरी सीमा लक डाउन गर्ने तर्फ पहल थालेको झाले बताए। नेपालले समुन्द्रपारको ५५ भन्दा बढी मुलुकबाट नेपाल प्रवेशमा पर्यटक तथा नेपालीलाई रोक लगाए तापनि भारतबाट दिनहुँ करिब २ सयको हाराहारीमा मानिसहरु आउजाउ गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell