PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

व्यवसायीहरुले आइसोलेसन वार्ड बनाउन १७ कोठाको होटल दिने



राधेश्याम पटेल

व्यवसायीहरुले आइसोलेसन वार्ड बनाउन १७ कोठाको होटल दिने

वीरगंज : होटल तथा पर्यटक व्यवसायी संघ पर्साले वीरगंजमा सुरक्षित आइसोलेसन वार्ड निर्माणको लागि होटल उपलब्ध गराउने भएको छ। संघले आइसोलेसन वार्ड निर्माण गर्ने १७ कोठा भएको होटल दिने घोषणा गरेका हो।

संघले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई आवश्यक परेको बेला बैशाख १ सम्म आइसोलेसन वार्डको रुपमा आदर्शनगरको क्लासिक होटल उपयोग गर्न अनुरोध गरेको छ। संघका अध्यक्ष हरि पन्तले एक विज्ञप्ति जारी गर्दै कोरोनासँग लड्न वीरगंजको अस्पतालमा भौतिक पूर्वाधार र तयारी कमजोर रहेको मध्यनजर गर्दै छुट्टै आइसोलेसन भवनको रुपमै उक्त होटललाई प्रयोग गर्न अनुरोध गरेका छन्।

होटलमा बाथरुमसहितका ११ र सामान्य ६ वटा कोठा छन्। कोठामा बेड, पंखा, एसी, टिभी, चर्पी, बाथरुमलगायतका सुविधा छन्।

यसैबीच, कोरोनाका कारण वीरगंजको होटल व्यवसाय प्रभावित भएको छ। वीरगंजका अधिकांश होटलको अक्कुपेन्सी अहिलेको समयमा शून्य भएको होटल व्यवसायीहरुले बताएका छन्। संघका अध्यक्ष पन्तका अनुसार एक सातादेखि वीरगंजका सबै होटलको कारोबार लगभग शून्य भएको बताएका हुन्।

भारतीय पाहुनाहरुले खचाखच भरिने वीरगंजका होटलहरु नेपाल-भारत नाका बन्द हुने हल्ला र भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि सुनसान भएको पन्तले बताए। उनले माघ, फागुनको बिहेवारीको समय पनि सकिसकेकोले वीरगंजका ५ दर्जन होलटहरुको कारोबार प्रभावित भएको जानकारी दिए।

वीरगंजमा ६० भन्दा बढि होटलहरु सञ्चालनमा छन्। बसपार्क क्षेत्रका होटलहरु पनि यात्रु तथा पर्यटकको  आवागमन नभएकोले सुनसान देखिएको व्यवसायीहरुले बताएका छन्। यस्तै अवस्था रहिरहे होटल बन्द गरी कामदारलाई बिदा दिनुपर्ने तयारी पनि भइरहेको व्यवसायीहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell