
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधनका क्रममा घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा रहेको कार्यदललाई निर्देशन दिइएको छ।
शुक्रवार बसेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले प्रधानमन्त्री ओलीले घोषणा गरेका कुराहरु कार्यान्वयनका लागि मुख्य सचिव लोकदर्शन रेग्मी संयोजक रहेको कार्यदललाई निर्देशन दिएको हो। अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रधानमन्त्रीले सम्बोधनमा भनेका विषयहरु बैठकमा स्पष्ट पारिएको र कार्यान्वयनको तालिकासहित अघि बढाउने छलफल भएको बताए।
मन्त्री खतिवडाले १० गतेबाट लामो दुरीका यातायात सेवा बन्द हुने भनेपनि आपूर्तिसँग सम्बन्धित कुनै पनि सेवा अवरुद्ध नहुने बताएका छन्। अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारी निर्णयपछि विभिन्न देशका विमानस्थलमा अलपत्र रहेका नागरिकहरुलाई सम्बन्धित देशमा रहेका नेपाली दुतावास मार्फत १४ दिन क्वारेन्टाइनमा राख्ने विषयमा पनि बैठकमा छलफल भएको छ।