
लखनउ : भारतीय गायिका कनिका कपूरले सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएपछि राजनीतिज्ञदेखि संसद र राष्ट्रपति निवाससम्म त्रास फैलिएको छ। लखनउमा कनिका सहभागी भएको डिनर पार्टीमा सामिल व्यक्तिहरुबीच त्रास छाएको हो। उनको सम्पर्कमा आएमा मानिसहरुले आफूलाई सेल्फ क्वारेन्टाइनमा राख्न शुरु गरेका छन्।
लापरबाही गरेको भन्दै कनिकाविरुद्ध उजुरी (एफआइआर) समेत दर्ता भएको लखनउका प्रहरी प्रमुखलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
कनिकासँग गत आइतवार डिनरमा सहभागी एक सांसदसँग भेट गरेका राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो सबै भेटवार्ता रद्द गरेका छन्। ती सांसदमा पनि कोरोनाको संक्रमण हुन सक्ने भन्दै निगरानीमा राखिएको छ।
डिनरमा सहभागी भएका भारतीय जनता पार्टीकी नेतृ वसुन्धरा राजे र उनका छोरा सांसद दुश्यान्त सिंह सेल्फ क्वारेन्टाइनमा बसेका छन्। उनीहरुको सम्पर्कमा आएका सबै राजनीतिज्ञ तथा सांसदहरु पनि अहिले सेल्फ क्वारेन्टाइनमा छन्। उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह पनि उक्त डिनरमा सहभागी थिए। त्यस्तै, आम आद्मी पार्टीका सांसद सञ्जय सिंह पनि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
While in Lucknow, I attended a dinner with my son Dushyant & his in-laws. Kanika, who has unfortunately tested positive for #Covid19 was also a guest.
— Vasundhara Raje (@VasundharaBJP) March 20, 2020
As a matter of abundant caution, my son & I have immediately self-quarantined and we’re taking all necessary precautions.
उत्तर प्रदेश र राजस्थानका सांसदहरुको प्रतिनिधिको रुपमा दुश्यान्त सिंहले बुधवार राष्ट्रपतिसँग भेट गरेका थिए। पूर्वमन्त्री अनुप्रिय पटेल, कांग्रेसका जितिन प्रसाद र दीपिन्दर हुडाले पनि उनीलाई भेटेका थिए। उनीहरु पनि हाल सेल्फ क्वारेन्टाइनमा छन्।
डिनरपछि दुश्यान्त सिंह संसदमा पनि उपस्थित भएको कांग्रेस नेता डेरेक ओब्रायनले बताए। उनले कोरोना रोकथामका लागि संसद बन्द गर्नु पर्ने बताउँदै आएका थिए। उनले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन्।
5.30 pm.
— Citizen Derek | নাগরিক ডেরেক (@derekobrienmp) March 20, 2020
Friday, March 20.
Home.
New Delhi.
My statement on video.
Am on self-isolation and following all protocol, as I was sitting right next to MP Dushyant for two hours at a #Parliament meeting on March 18. #COVID19 pic.twitter.com/vX01w9o1D8
४१ वर्षीय गायिका कनिका मार्च ९ मा लण्डनबाट मुम्बई आएकी थिइन्। दुई दिनपछि उनी लखनउ पुगेकी थिइन्। उनले आफू बिरामी भएको नलुकाएको बताएकी छिन्।
उनले मुम्बई एयरपोर्टमा स्क्रिनिङ गर्दा आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र जाने अनुमति पनि पाएको बताएकी छिन्। सेल्फ क्वारेन्टाइनमा आफूलाई नराखेको भन्दै मानिसहरुले उनको आलोचना गरिरहेका छन्।
कोरोना भाइरसको संक्रमण भएको पुष्टि हुनुअघि उनी केही पार्टीहरुमा सहभागी भएकी थिइन्। पारिवारीक कार्यक्रममा सहभागी हुन उनी कानपुर पनि पुगेकी थिइन्। जहाँ हाल स्यानिटाइजिङ गरिएको छ। उनी सम्मिलित एक पार्टीको आयोजना गरिएको पाँच तारे ताज होटल पनि बन्द गरिएको छ।
भारतमा हालसम्म २२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये चार जनाको मृत्यु भइसकेको छ।