PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

ग्यास किन्नेको विवरण राखिँदै, अनावश्यक होल्ड गर्दा निमुखाको घरमा बल्दैन चुल्हो



पहिलोपोस्ट

ग्यास किन्नेको विवरण राखिँदै, अनावश्यक होल्ड गर्दा निमुखाको घरमा बल्दैन चुल्हो

काठमाडौं : अनावश्यक भण्डारण रोक्न नेपाल ग्यास उद्योग संघले ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। कोरोना भाइरसको संक्रमणको त्रासले उपभोक्ताले अत्याधिक ग्यास भण्डारण गर्दा बजारमा अभाव भएपछि संघले यो व्यवस्था गरेको हो।

संघका अध्यक्ष गोकुल भण्डारीले भारतबाट जति ग्यास आए पनि अभाव नहटेपछि उपभोक्ताको विवरण राख्ने व्यवस्था गरिएको बताए।

‘भारतमा बीस दिनको अवधिमा ३२ हजार टन ग्यास नेपाल आइसकेको छ। तर पनि बजारमा ग्यासको अभाव हटेको छैन,’ उनले भने, 'एउटै उपभोक्ताले धेरै ग्यास राख्ने तर अरुले नपाउने अवस्था आएपछि हामीले ग्राहकको विवरण राख्ने व्यवस्था गरेका हौं।’

उनका अनुसार बिक्रेताले आफुले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित जानकारी गराउने व्यवस्था गरिएको छ। ‘यो व्यवस्थाले ग्राहकको पहिचान हुने र एउटै व्यक्तिले धेरै ग्यास लैजान पाउने व्यवस्था समेत रोकिन्छ,’ भण्डारीले भने, ‘यसले दीर्घकालिन रुपमा पनि ग्यास आपूर्तिलाई सहज बनाउन सहयोग पुग्न सक्छ।’

नाकाबन्दीको समयमा समेत सरकारको निर्देशनपछि यस्तै विवरण राख्न खोजिएको थियो। तर यो कार्यान्वयनमा आउन सकेको थिएन्। ग्यास बिक्रेता महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर अर्याल आपूर्ति असहज हुँदा आउने परिस्थिती सामना गर्न अभिलेखिकरण आवश्यक भइसकेको बताउँछन्।

‘सामान्य आपूर्ति असहज हुँदा पनि सामान्य उपभोक्ताले ग्यास नपाउने अवस्था छ। त्यसका लागि सरकारले दीर्घकालिन रुपमै संयन्त्र बनाउन आवश्यक छ,’ उनले भने, ‘होइन भने ठूलाबडाले १० वटा सिलिण्डर लैजाने र सामान्य दैनिक ज्यालामजदुरी गर्नेले चुल्होनै बाल्न नपाउने अवस्था आउँछ।’

उनका अनुसार जतिसक्दो छिटो राष्ट्रिय परिचयपत्रमार्फत नागरिकलाई एकीकृत प्रवाह गर्ने बाटो खोल्नुपर्छ। ‘विगतमा महासंघले कार्डमार्फत ग्यास वितरण प्रणालीलाई व्यवस्थित गर्न खोजेका थियौं। तर सरकारी संयन्त्रकै असहयोगका कारण कार्ड सफल हुन सकेन्,’ अर्यालले भने, ‘अब सरकारले दीर्घकालीन रुपमा नसोचेमा आपूर्ति प्रणालीमा उपभोक्ताले सधै दु:ख पाइरहने अवस्था रहन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell