PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

सार्क कोषमा १० करोड सहयोगपछि मोदीले भने : ओलीजीको प्रतिबद्धता र समर्थनका लागि धन्यवाद



पहिलोपोस्ट

सार्क कोषमा १० करोड सहयोगपछि मोदीले भने : ओलीजीको प्रतिबद्धता र समर्थनका लागि धन्यवाद

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क देशहरुमा कोरोनाविरुद्ध लड्न खोलिएको सामूहिक कोषमा १० करोड सहयोग गर्ने घोषणाप्रति प्रधानमन्त्री केपी शर्मा ­ओलीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणको लागि भारतीय प्रधानमन्त्री मोदीले अघि सारेको कोषमा नेपालले १० करोड रुपैयाँ दिने घोषणा गरेका थिए।

घोषणालगत्तै मोदीले राती ११ बजे ट्वीटरमार्फत प्रतिबद्धता र समर्थनका लागि ओलीलाई धन्यवाद दिएका हुन्।

मोदीले भनेका छन्, 'कोभिड १९ आपतकालीन कोषमा १० करोड रुपैयाँ योगदानको घोषणाले महामारीविरूद्ध सार्क देशहरूको सामूहिक लडाईमा ओलीजीको प्रतिबद्धता र समर्थन प्रतिबिम्बित गर्दछ। हार्दिक धन्यवाद।'

सार्क राष्ट्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा मोदीले कोषको घोषणा गर्दै भारतले प्रारम्भमा १० मिलियन डलर सहयोग गर्ने बताएका थिए।

मोदीको प्रस्तावलाई सबै राष्ट्रले समर्थन गरेका थिए। कोषमा भुटानले एक लाख डलर सहयोग गरेको छ। सहयोगका लागि मोदीले भुटानका प्रधानमन्त्री डा लोटे छिरिङलाई पनि धन्यवाद दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell