
काठमाडौं: शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्दको घोषणा गरे। उनले राष्ट्रको नाममा सम्बोधन गर्दै सरकारको निर्णय सुनाए, 'आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ।‘
लगत्तै नेपाली एयरलाइन्स कम्पनीहरुले हवाई भाडादर दोब्बर/तेब्बर वृद्धि गराए।
सरकारले कोरोना भाइरस रोकथामका लागि सतर्कता अपनाउँदै बुधवार सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दियो। त्यसयता ठूलो संख्यामा विद्यार्थी एवं अभिभावक उपत्यका छाड्दै थिए। मानिसहरु उपत्यकाबाट बाहिरिने क्रम बढ्दै जाँदा सरकारको निर्णयको प्रत्यक्ष फाइदा उठाउन थाले एयरलाइन्स कम्पनीहरुले। किनकि बस या अन्य यातायात साधनमार्फत् उपत्यका छाड्नेहरुका लागि हवाइ मार्ग मात्र अर्को विकल्प हो।
कोरोना भाइरसले निम्त्याएको यस त्रासदीपूर्ण अवस्थामा एयरलाइन्स कम्पनीहरुले हवाई भाडादरमा तेब्बरसम्म वृद्धि गराए। काठमाडौंबाट विराटनगर जाने हवाइ भाडाको न्युनतम मूल्य ६ हजार १ सय पुगिसकेको छ। अधिकतम भाडादर ७ हजार ५ सय रुपैयाँ छ। काठमाडौंबाट भद्रपुर जाने न्युनतम भाडा दर ७ हजार ४ सय रुपैयाँ छ। अधिकतम भाडा दर ९ हजार पुगिसकेको छ।
भैरहवाको न्युनतम भाडा दर ४ हजार २ सय रुपैयाँ पुगेको छ। नेपालगञ्ज जाने न्युनतम भाडा दर ९ हजार ३ सय रुपैयाँ छ। धनगढीका लागि न्युनतम भाडादर १२ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। अधिकतम अहिलेसम्मकै महंगो २२ हजारसम्म तोकिएको छ।
तुलनात्मक रुपमा पोखरा जाने भाडादर केही कम छ। पोखराको न्युनतम भाडा दर २ हजार रुपैयाँ छ। भरतपुरका लागि भाडा दर २ हजार ९ सय ५० रुपैयाँ पुगेको हो।
अहिले दशैंजस्तै काठमाडौंबाट बाहिरिनेको संख्या उच्च छ। बसबाट दुई दिनमा साढे दुई लाख मानिस काठमाडौंबाट बाहिरिसकेका छन्।
हवाइ इन्धनको भाउ साढे ४ रुपैयाँ कम भएपछि हवाइ भाडादर घटाएको जनाए पनि सर्वसाधारणले उच्च भाडा तिर्न बाध्य हुनु परेको छ। सामान्य अवस्थामा विराटनगर जान ३ हजार २ सयमै टिकट पाइन्थ्यो। अब मूल्य दोब्बर भएको छ।
जसको विरोध सामाजिक सञ्जालमा भइरहेको छ।
पूर्व लडाकु लेनिन विष्टले ट्वीट गरेका छन् : ‘मानव जाति नै संकटकामा परेका बेला नेपालका एयरलाइन्स कम्पनीहरुको ब्रम्हलुट चलेको छ। अस्तिसम्म ३ हजारमा पाइने टिकट आज १५ देखि २० हजारसम्म पुर्याएका छन्। सरकार के गर्छौ यस्तालाई।‘
उनले भाडादर भने दुई यात्रुको हो। जुन स्क्रिनसट राख्दै अन्य ट्वीटर एवं फेसबुक प्रयोगकर्ताले एयरलाइन्स कम्पनीहरुलाई प्रश्न गरिरहेका छन्।
नारान नामक प्रयोगकर्ताले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन् :
‘कोरोना भाइरसको त्रासदीमा फोरफ्रन्टमा रहेर, बिना प्रोटेक्सन नागरिकलाई सेवा जो बुद्ध एयरले दिइरहेको छ, त्यो प्रशंसायोग्य छ।
टिकट मोल?
एमआरपी भन्दा बढाएको छैन। सस्ता टिकटको संख्या घट्ने नै भो डिमान्ड बढेपछि।
तारिफ गर्न किन कन्जुस्याइँ?’
सरकारले पच्चिस जनाभन्दा बढी मानिसको भिड जम्मा नहुन समेत निर्देशन दिएको थियो। त्यसैले प्रयोगकर्ताले प्रश्न गरेका छन् : जहाजमा पच्चिस जनाभन्दा बढी यात्रु नबोक्ने हो त?
कतिले यस विषयलाई ‘एयरलाइन्स कम्पनीको कालो धन्दा’को संज्ञा पनि दिएका छन्।
डाक्टर रामेश कोइरालाले लेखेका छन् : 'लामो दूरीका बस बन्द गर्ने तर घरेलु विमानसेवा सूचारू रहने!'
क्या लोचा हो रहा है भाइ? कि कोरोनाको भाइरसलाई एरोफोबीया हुन्छ भनेर जेनेटिक मेमोरीले खुसुक्क जानकारी दियो?’
उक्त ट्वीटमा अनुज घिमिरेले जवाफ लेखेका छन्,
‘पिलेन आकाशा उढ्छ,
आकाश तिरै स्वर्ग छ,
पशुपतिनाथको वाइफाइ सिग्नल राम्ररी टिप्छ
त्यसैले भुइँमा गुड्ने गाडी भन्दा अकाशमा उढ्ने पिलेन सुरक्षित छ।‘