PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

दुई नाकाबाहेक अरु बन्द गर्न सुदूर पश्चिम प्रदेशको निर्णय, गौरीफन्टा र गड्डाचौकीबाट नेपाल छिर्दै थेगिनसक्नु भिड



एम बम

दुई नाकाबाहेक अरु बन्द गर्न सुदूर पश्चिम प्रदेशको निर्णय, गौरीफन्टा र गड्डाचौकीबाट नेपाल छिर्दै थेगिनसक्नु भिड

कैलाली : शुक्रवार सुदूरपश्चिम प्रदेशका मुख्यन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा कैलाली कञ्चनपुरका सुरक्षा अधिकारी, स्थानीय तहका जनप्रतिनिधि लगायतको बैठक धनगढीमा सम्पन्न भयो।

बैठकले सुरक्षा कतर्कता बढाउने विभिन्न निर्णय गरे पनि नाकाहरुको आउजाउका विषयमा ठोस निर्णय भने गर्न सकेन। यद्यपि, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकालाई मात्र आउजाउको अनुमति प्रदान गर्ने विषयमा पहल गरी अन्य नाका बन्द गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय भएको बैठकपछि मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए।

कोरोना संक्रणको जोखिम बढेपछि ती नाका पनि बन्द गर्नेका लागि पहल थालिसकेको मुख्यमन्त्री त्रिलोचन भट्टको भनाई छ। तर, समस्या आइहाले समाधानका लागि निर्णय गरेर बसेको सुदूरपश्चिम सरकारले त्यसपछिको अवस्थालाई धान्न सक्ने क्षमता राख्छ त ? सरोकोरवालाले प्रश्न गरेका छन्।

शनिवार नाकाहरुमा अनुगमनका लागि मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रीको टोली समेत पुगेको छ।

अस्तव्यस्त स्वास्थ्य परीक्षण, बढ्यो जोखिम

प्रदेश सरकारले नाकाका विषयमा कडा निर्णय गर्न नसक्दा जोखिम बढेको छ। कैलालीका स्थानीय धर्मराज ओझाले भने, 'सरकारले तत्काल नाकाहरु बन्द गर्न अति आवश्यक छ।'

शुक्रवारको बैठकमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट र धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले पनि नाका बन्द गर्न सरकारलाई अनुरोध गरेका थिए।

तर, प्रदेश सरकारले यसमा केन्द्रलाई अनुरोध गर्नेमात्रै निर्णय गर्‍यो।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबारसम्म दैनिक १० हजार नेपालीहरु कैलाली कञ्चनपुरका नाकाबाट घर फर्किरहेको तथ्याङ्क देखाएका थिए। तर, शनिवार बिहान मात्रै कञ्चनपुरको कड्डाचौकी नाकाबाट एकैपटक हजारौं नागरिकहरु सहजै भित्रिएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले यकिन संख्या भन्न नसकिने बताउँदै हजारौं नागरिक भित्रिएको र स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउने प्रयत्न गरिरहेको बताए।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टका अनुसार आज बिहानमात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केका छन्। उनले सीमाको स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको टोलीसमेत गड्डाचौकी नाकामा खटिएको बताए।

यता कैलालीको गौरीफन्टा नाकामा पनि उस्तै भीड छ।

यसरी नाकाहरुमा बढेको भिडले त्यहाँ राखिएका हेल्थ डेस्कहरुको अवस्था भने अस्तव्यस्त बनेको छ। सामान्य ज्वरो मापनको काम समेत प्रभावकारी ढंगबाट अघि बढ्न सकेको छैन। भारतमा बढ्दै गएको कोरोनाको संक्रमण नेपालमा प्रवेश गर्न नदिने हो भने नाका नै केही दिनलाई बन्द गर्नुपर्ने यहाँका स्थानीयले माग गरेका छन्।

गड्डाचौकी नाकामा सवारी साधन बन्द

गड्डाचौकी भएर भारतबाट फर्किने यात्रुको भिड बढेपछि आज बिहानैदेखि सवारी साधनको आवागमन भने बन्द गरिएको छ। प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाको अध्यक्षतामा बसेको बैठकले सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो।

सीमा नाकामा निकै भिड रहेकाले सवारी साधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको खतिवडाले बताए। यस्तै, उक्त बैठकले गड्डाचौकी बाहेक जिल्लासँग जोडिएका सबै सीमा नाका बन्द गर्ने, स्वास्थ्य सहायता कक्षलाई अझै प्रभावकारी बनाउने, महाकाली अस्पतालमा आवश्यक उपकरण थप्ने, सबै स्वास्थ्य कर्मचारीलाई तयारी अवस्थामा रहन निर्देशन दिने समेत निर्णय गरेको छ।

तस्बिर : पुष्कर भट्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell