PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंज-पथलैया करिडोरका १५ हजार मजदुर कोरोनाको जोखिममा



राधेश्याम पटेल

वीरगंज-पथलैया करिडोरका १५ हजार मजदुर कोरोनाको जोखिममा

वीरगंज : मुलुककै सबै भन्दा ठूलो औद्योगिक करिडोरको रुपमा चिनिने वीरगंज-पथलैया औद्योगिक करिडोरमा काम गर्ने करिब १५ हजार भन्दा बढी मजदुर कोरोनाको जोखिममा छन्।

नेकपा निकट जिफन्ट पर्साका अध्यक्ष विनोद महतोले सरकारले २५ जना एक ठाउँमा भिडभाड नगर्नु भनेर निर्णय समेत गरी सक्दा पनि श्रम मन्त्रालय र उद्योग मन्त्रालयले उद्योग/काराखाना सञ्चालन गर्ने या बन्द गर्ने बारेमा स्पष्ट निर्देशन नदिएकोले सम्पूर्ण मजदुर जोखिम मोलेर पनि काम गर्न बाध्य भएको गुनासो गरे।

‘सबै उद्योग चलिरहेका छन्, सरकारले केही क्लियर गरेको छैन,’ उनले दखेसो पोख्दै भने, ‘वीरगंजका अधिकांश उद्योगमा ३५ प्रतिशतको हाराहारीमा भारतीयहरु नेपालीसँगै काम गर्छन्। त्यसमा पनि होली पश्चात उनीहरु भारतबाट फेरी नेपाल पर्केका थिए।’

वीरगंज करिडोरको सूर्य नेपाल, डाबर नेपाल, ब्रिटानिया, हिमालयन डिस्टीलरी, जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, निम्बसको प्रोबायोटेक, नारायणी स्टिल्स, हिमालय आयरन प्रालि, ओम चावो बिरो इण्डष्ट्रिज, सुशिल वनस्पति प्रालि, हामा स्टिल, शालिमार सिमेन्ट, रिलायन्स सिमेन्ट, शिवशक्ति आयाल रिफाइनरीलगायत उद्योगमा उच्च जोखिम रहेको मजदुर नेताहरुको भनाइ छ।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले सरकारी स्तरबाट उद्योग बन्द गर्ने निर्देशन हाल सम्म नआएकोले आफूहरुले उद्योग कल कारखाना बन्द गराउने अह्वान नगरेको बताए।

उनले भने, ‘सरकारले सिनेमाघर, जिमखाना, स्विमिङपुल बन्द गर्ने निर्देशन गरेको छ तर उद्योग बन्द गर्ने भनेको छैन। त्यसैले उद्योग चलिरहेका छन्, चाडै सरकारले यस विषयमा निर्णय गर्न सक्छ।’

श्रम कार्यालय वीरगंजका निमित्त कार्यालय प्रमुख सुन्दरकुमार श्रेष्ठले वीरगंज करिडोरमा साना ठूला गरी कुल ८ सयको हाराहारीमा उद्योग दर्ता रही सञ्चालनमा रहेको बताए। उनले वीरगंज करिडोरका भारतसँग खुल्ला सिमानाको कारण मजदुरहरु जोखिममा रहेको चर्चा गर्दै श्रम मन्त्रालयमा आजै पत्र लेखेर यहाँको अवस्थाबारे जानकारी गराउन लागेको बताए।

‘एउटै उद्योगमा १५ सय जना काम गर्छन्, सबै भन्दा जोखिम करिडोर वीरगंज नै हो, अहिलेको अवस्थामा’, उनले भने, ‘हामीले सरकारको चिठ्ठीलाई पर्खेका थियौं तर सरकारले चिठ्ठी नै पठाएको छैन, कसरी उद्योग बन्द गराउने?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell