काठमाडौं : इत्तिहाद एयरको इटीडी २९० विमान विमानस्थलमा अवतरण नगरी फनफनी घुमिरहेको देख्दा धेरैले शंका गरे - किन विमान उत्रिरहेको छैन? भारतमा हिजोमात्रै आम्सटडमबाट १ सय भारतीयलाई लिएर आएको विमान उत्रिन रोक लगाइएको थियो। कोभिड १९ को त्रासका कारण एक गर्भवती समेत रहेको विमानलाई उतै फर्काइएको थियो। कता काठमाडौं उत्रिन लागेको विमानलाई त्यसै गरिएको त होइन?
आशंका हुनु स्वभाविक थियो। अबुधावीबाट स्थानीय समयअनुसार बिहान ९:४२ बजे उडेको विमान काठमाडौंमा ३:५० मा उत्रिने सेड्युल थियो। तर, नेपाल छिरेलगत्तै विमान आकाशमा फनफन्ती घुम्न थालेको थियो। विमान ४:३५ मा त्रिभुवन विमानस्थलमा ल्यान्ड भयो। आखिर किन त?
हामीले यसबारे नागरिक उड्ययन प्राधिकरणमा बुझ्दा कोरोनाका कारण नभइ मौसमका कारण विमान ल्यान्ड हुन कठिन भएको पुष्टि भयो।
यो विमान आज नेपाल आए पनि यसमा प्यासेन्जर भने छैनन्। नेपालबाट यात्रु लिनका लागि मात्र यहाँ आएको हो यो विमान। कतार एयरवेज पनि यात्रु लिनका लागिमात्र आजै नेपाल आउँदैछ। त्यसमा पनि नेपालमा उत्रिने प्यासेन्जर हुने छैनन्।