PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतबाट आएका दुई नेपालीमा देखियो उच्च ज्वरो, महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना



एम बम

भारतबाट आएका दुई नेपालीमा देखियो उच्च ज्वरो, महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना

कैलाली : शनिवार कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका दुई जना नेपालीलाई कोरोना संक्रमणको आशंकामा महाकाली अस्पतालमा भर्ना गरिएको छ। भारतबाट आएका उनीहरूमा उच्च ज्वरो देखिएपछि महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकृष्ण श्रेष्ठले बताए।

‘उच्च ज्वरो देखिएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको हो’, उनले भने, ‘त्यस्तो डराइहाल्नुपर्ने अवस्था छैन। हामीले उनीहरूको रगत र खकारको नमुना परीक्षणका लागि यहाँबाट पठाइसकेका छौँ।’

कोरोनाको संक्रमण भए नभएको बारेमा भने रिपोर्ट आएपछि मात्रै थाहा हुने उनको भनाइ छ। भर्ना गरिएका दुवै जनाको नाम र ठेगाना भने गोप्य राखिएको छ।

उनीहरु दुवै जनाको ज्वरो एक सय डीग्री भन्दा माथि मापन गरिएको छ। यी दुई जना लगायत सुदूरपश्चिमबाट हालसम्म १२ जनालाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ। जसमध्ये हालसम्म ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका तीन जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा जगदीश जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell