
काठमाडौं: वायु सेवा सञ्चालकहरुले हवाई भाडादरमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा वायु सेवा सञ्चालकले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन्।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गतेबाट नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएपछि एयरलाइन्स कम्पनीहरुले तेब्बरसम्म हवाई भाडादर बढाएका छन्। अचाक्ली भाडा बढाएपछि नागरिकस्तरबाट चर्को विरोध भइरहेका बेला शनिबार पर्यटन मन्त्री भट्टराईले वायु सेवा सञ्चालकलाई मन्त्रालयमा बोलाएर छलफल गरे।
छलफलमा मन्त्री भट्टराईले हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रङ्क रुटमा लिँदै आएको अधिकतम सीमाका २ वटा स्लयावका हवाई भाडा हटाई सो भन्दा कमको भाडादरलाई अधिकतम सीमा कायम गर्न र न्यूनतम सीमामा रहेका अन्य भाडा दरलाई समेत यथावत कायम गर्न अनुरोध गरेका थिए।
उक्त अनुरोधलाई वायु सेवा सञ्चालकहरुले सकारात्मक रुपमा लिँदै तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएको पर्यटन मन्त्रीका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए।