PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

वीरगंजबाट दैनिक २ करोडको खाद्य सामानको तस्करी, नेपाली व्यवसायी घाटामा



राधेश्याम पटेल

वीरगंजबाट दैनिक २ करोडको खाद्य सामानको तस्करी, नेपाली व्यवसायी घाटामा

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज आसपासबाट दैनिक २ करोड भन्दा बढीको खाद्य सामाग्रीको तस्करी हुने गरेको उद्योगीहरुले आरोप लगाएका छन्। वीरगंजका करिब एक दर्जन उद्योगीहरुले खुल्ला सीमानाबाट हुने तस्करी नियन्त्रण हुन नसक्दा आफूहरु घाटाको रोजगार गर्न बाध्य भएको गुनासो गरेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कमजोर सुरक्षा व्यवस्था र वीरगंज भन्सारका कर्मचारीहरुकै मिलेमतोमा चामल, चिनी, तेल, पिठो, बिस्कुट, चकलेटलगायत समानको तस्करी हुने गरेको उनीहरु बताउँछन्। वीरगंज आसपासको नाकाबाट पोके तस्करहरु घरायशी प्रयोजनको लागि भन्दै साइकल, मोटरसाइकल तथा पैदलबाट दिनको तीन पटक सम्म मालसामानको तस्करी गर्ने गरेको वीरगंजका व्यवसायीहरुको भनाइ छ। बिहान ५ बजेदेखि रातिको समयमा पनि तस्करी हुने गरेको उनीहरु बताउँछन्।

वीरगंज ओम चाओविरो इण्डष्ट्रिज प्रालि वीरगंजका उद्योगी नारायण रुगंटाले भन्छन्, ‘वीरगंज नाकाबाट दैनिक २ हजार साइकलमा ३/३ वटा २५ किलोको चामलको बोरा पार गराइन्छ, एउटा बोराको दाम १ हजार ३ सय ७५ रुपैयाँ पर्छ। यसरी दिनको २ करोड भन्दा बढिको चामल मात्र तस्करी भइरहेको छ।’

भारतीय जिरामसिनो चामल वीरगंज आसपासको बजारमा सबैले खोज्ने गरेको र नेपाली उद्योगको उत्पादन बोरामा ५० रुपैयाँ महँगो पर्ने हुँदा नेपाली समानको बिक्री कम हुने गरेको उनको तर्क छ। त्यसैगरी, नेपाली चिनी बजारमा ७६ रुपैयाँमा बिक्री भइरहेको छ भने भारतबाट तस्करहरुले भित्रियाएको चिनी ६२ रुपैयाँमा बिक्री हुने गरेको छ।

त्यसैगरी, भारतमा उत्पादित तोरीको रानी तेलको पनि अत्यधिक तस्करी हुने गरेको छ। भारतीय बिस्कुट र चकलेटको पनि उस्तै तस्करी हुने गरेको व्यवसायीको आरोप छ।

वीरगंज मुल भन्सार नाकामै शंकराचार्य गेट, ईनार्वा प्रहरी चौकी, वीरगंज भन्सार गेट, जिलेयिबा मोड, रजतजयन्ती चोकलगायत क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका चेक गर्ने गरेको छ। तर, तस्करी कहिल्यै नियन्त्रण नभएको व्यवसायीहरु बताउँछन्।

यता सशस्त्र प्रहरी भन्सार गुल्म वीरगंजका गुल्मपति डिएसपी अमर खत्रीले तस्करी किन रोकिएन भन्ने प्रश्न वीरगंज भन्सारका अधिकारीहरुसँग सोध्नु पर्ने बताए।

‘आफूहरुले मात्र सुरक्षा व्यवस्था उपलब्ध गराइदिने हो, उनले भने’, ‘कुन सामान कसले लिएर गइरहेको छ, तस्करीको हो कि भन्सार तिरेर लगेको त्यो हेर्ने जिम्मा भन्सार कर्मचारीहरुको हो।’

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहले तस्करीको बारेमा बैठक राखेर कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे रणनीति बनाएर जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell