काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलदो त्रासबीच सरकारले तीव्र गतिमा सावधानी अपनाउन शुरु गर्यो। सरकारको निर्णय अनुसार स्कूल, कलेज धमाधम बन्द भए। एसइई परीक्षा समेत स्थगित भयो। त्यसपछि मानिसहरु उपत्यका छाड्न थाले।
एक त मानिसको चहलपहल कम र २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन सरकारको निर्देशन। लगत्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन बन्द गर्ने बताए। त्यसपछि उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्यो, कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि।
पछिल्लो २४ घण्टामा काठमाडौंबाट बाहिरिनेको संख्या बढिरहेको छ। प्रहरीका अनुसार शनिबार सबैभन्दा धेरै दुई लाख मानिसले काठमाडौं छोडे।
प्रत्यक्ष प्रभाव देखियो काठमाडौंको मुख्य बजारहरुमा। सधैं भीडभाड रहने असन र न्यूरोड आसपास मानिस कम देखिन थाले। साथै त्यहाँका होलसेल पसलहरु पनि धमाधम बन्द हुन थालेका छन्। होलसेल पसलहरु बन्द हुनुको मारमा भने त्यहाँ भरीया परेका छन्।
पाँच दिन भयो दोलखाका गणेश खत्रीको नाम्लो रित्तै भएको। एक छाक तरकारी जोहो गर्ने रकम समेत कमाउन सकेका छैनन् उनले। ५० वर्षीय उनी पन्ध्र वर्षदेखि असन, न्यूरोड वरपर भारी बोकेरै घर चलाउँदै आएका छन्। ‘पाँचदिन देखि त पूरै ठप्प छ काम। आज त सय रुपैयाँ पनि कमाउन सकिएको छैन’, उनले भने।
२०७२ सालमा विनाशकारी भूकम्प र लगत्तै भएको नाकाबन्दी पनि कामको अभाव खेपेका थिए उनले। अहिलेको अवस्था त्योभन्दा नाजुक बनेको उनको भनाई छ।
‘त्यसबेला सामान आउँदैन थियो। काम नभए पनि अहिलेजस्तो रोगको आतंक थिएन नि। अहिले त घरबाट निस्कनै डरमर्दो। अब नुन पानीले दैनिकी चलाउनुको उपाय छैन’, संकटले निम्त्याएको अभाव र त्रास व्यक्त गर्छन् उनी।
रामेछापका ३९ वर्षीय कुमार थापालाई लाग्छ, देशमा जस्तोसुकै संकट आइपरे पनि मारमा पर्ने भनेको गरीब नै हुन्। भन्छन्, ‘पहिले नै सामान स्टक गर्ने पैसा हुँदैन। त्यसैले अन्तिम समयमा किन्न जाँदा महंगोमा परिन्छ। गरीबले त भनेको बेला पैसा भए नि किनेर खान पाउँदैनौँ। अनी हामी मारमा नपरे अरु को पर्छ त?’, उनी प्रश्न गर्छन्।
आइतबारदेखि सबै पसलहरु बन्द गर्ने खबरले झनै झस्काएको छ भरीयाहरुको समूहलाई नै।
‘हामी दिनभर काम गरेर बेलुकी खाने वर्ग। जम्मा गरेर राखिएको पैसा छैन। अब शहरसँगै हाम्रो दैनिकी पनि ठप्प हुन्छ’, सिन्धुपाल्चोकका सुन्दर खत्री भन्छन्।
२६ वर्षीय उनी भारी बोकेरै खर्च जोहो गर्थे।
यस्तो संकटमा रासन पानी, ग्याँस लगायत सामान लुकाउने र कालोबजारी गर्नेप्रति आक्रोश व्यक्त गर्न पनि पछि पर्दैनन् उनी। भने,’हामी दोब्बर तेब्बर खर्च गरेर जिन्दगी चलाउन नसक्नेसँग गाउँ फर्कनुको विकल्प छैन।‘
सामानको भारी न्यूरोडदेखि भृकुटीमण्डपसम्म पुर्याएको एक सयदेखि एक सय बीससम्म लिने गर्थे उनीहरु। तर अहिले भृकुटीमण्डपको सस्तो बजार पनि बन्द भयो। होलसेलदेखि गाडी वा आसपासका खुद्रा विक्रेता पसलसम्म सामान पुर्याउने काम पनि बन्द।
पसल बन्द हुनुले ज्याला मजदूरी गरी खानेलाई त अप्ठ्यारोमा पार्यो नै होलसेल व्यापारी पनि मारमा छन्। जुत्ता चप्पलको होलसेल व्यापार गर्दै आएका 'जी नेपाल'का अनुसार कोरोना भाइरसको आतंक फैलिएसँगै चीनबाट मगाएको सामन केरुङमै रोकिएका छन्।
उनी भन्छन्, ‘यता कोरोना भाइरसको त्रासदी छ। अर्कोतिर सामान अड्कियो। व्यापार ठप्प। पसलको भाडा कसरी तिर्ने होला भन्ने चिन्ता।‘
दुईसाता देखि व्यापारमा गिरावट आएको बताउँछन् उनी।
‘पहिले हामी खुद्रा बेच्दैनथ्यौँ। बिहीबारदेखि एक जोरमात्र भए पनि बेच्न थाल्यौँ। अब आइतबारदेखि त त्यो पनि बन्द हुने भयो’, उनले सुनाए।
यो संकटको घडिमा नाकाबन्दीका दिन सम्झन्छन् उनी। ‘त्यसबेला त व्यापारको घाटा मात्र सहनुपर्यो। अहिले त जीवन सुरक्षाको चनौती पनि छ’, भने। उनले केही समयका लागि गाउँ बागलुङ फर्कने योजना बनाइसकेका छन्।
बजारका नब्बे प्रतिशत सामान र कच्चा पदार्थ समेत चीनबाटै आउने भएकाले यस संकटको प्रभाव लामो समय पर्ने उनको अनुमान छ।
न्यूरोडस्थित रञ्जना गल्ली छिर्ने स्थलमा सार्वजनिक रुपमा स्यानिटाइजरको व्यवस्था गरिएको छ। शुक्रबारदेखि त्यहाँ प्रवेश गर्नेका लागि उक्त व्यवस्था गरिएको हो। आइतबारदेखि भने रञ्जना ट्रेड सेन्टरका बाह्रमध्ये एकमात्र गेट खुला गरिनेछ। साथै त्यहाँ प्रवेश गर्नेहरुको ज्वरो समेत जाँच गरिनेछ।
सेन्टरका सुरक्षाकर्मी भन्छन्, ‘एक सातायता चहलपहल कम भएको छ। तर, सबै बन्द हुँदा पनि हामी गार्ड आलोपालो ड्युटीमा खट्नै पर्छ।‘
रञ्जना गल्ली, न्यूरोड, वसन्तपूर, असन, इन्द्रचोक आसपास मानिस भए पो यात्रु भेटुन् रिक्सा चालकहरुले। उनीहरुको पनि व्यथा उस्तै। कोरोना भाइरसको आतंक फैलिएसँगै विदेशी पर्यटकको आवतजावतमा कमी भयो। फाट्टफुट्ट भेटिने नेपाली यात्रु पनि ठप्प। दैनिक आम्दानी पनि रोकियो।
‘एक हप्तादेखि साहुलाई रिक्साको भाडा समेत तिर्न सकेको छैन। अब त साहुलाई नै रिक्सा जिम्मा लाउने हो’, एक रिक्सा चालकले भने।
अर्का चालक भन्छन्, ‘काठमाडौंमा अरुबेला त पर्यटक बाहेक अन्यले रिक्सा चढ्दैनन् झन् अहिले त यो खै के रोग आयो हातमुख जोर्नै मुस्किल बनायो।’
कोठमा भाडा तिर्न नसक्ने र रित्तो हात घर फर्कने आँट नभएको गुनासो गर्छन् उनीहरु।