PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ती तीन यात्रु जसका कारण मच्चियो सिल्क एयर काण्ड : आखिर के भएको थियो विमानस्थलमा?



वसन्तराज उप्रेती

ती तीन यात्रु जसका कारण मच्चियो सिल्क एयर काण्ड : आखिर के भएको थियो विमानस्थलमा?

काठमाडौं : शनिवार राती नौ बजे सिल्क एयरको ९ भि-एमजीबी कलसाइनको बोइङ ७३७-८ एसए जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो।

४४२१८ सिरियल नम्बर रहेको यो जहाज रित्तो थिएन, यात्रारत थिए ९८ जना यात्रु। जहाज अवतरण हुँदा बाहिरबाट विमानस्थल जति शान्त देखिन्थ्यो, विमानभित्र त्यति नै कोलाहाल सुरु भइसकेको थियो। हंगामाका कारण रहे, जहाजमा रहेका तीन यात्रु। कोभिड १९ भाइरसले प्रकोपमा परेका मुलुकबाट नेपालीलाई समेत सरकारले नेपाल उत्रन रोक लगाइसकेको अवस्थामा विमानमा यात्रारत उनीहरुलाई के गर्ने?

ल्यान्ड भइसकेको विमानलाई पुन सिंगापुर फर्काउने या सबैलाई उत्रन दिने?

सिंगापुरबाट उडान गरेको यो जहाजमा सबै यात्रु नेपाली नै थिए। त्यही एक जना नेपाली नागरिकता भएकी महिला थिइन्, अस्ट्रेलियाबाट सिंगापुर हुँदै यही विमानमा यात्रारत। उनीसँग मेडिकल टेस्टको कुनै कागजात् थिएन। सिल्क एयरका कर्मचारीले मेडिकल रिपोर्ट नै वेवास्ता गरी उनलाई विमान चढ्न दिए।

उनीबाहेक दुई जना जापानबाट आएका पनि विमानमा रहेछन्। जापानबाट जो कसैलाई पनि नेपाल आउन निषेध गरिसकेको छ। कोरोना संक्रमणको प्रभावित क्षेत्रका मानिसहरु पनि विमानमा रहेको जानकारी पाएपछि पाइलटले त्रिभुवन विमानस्थलमा खबर गरे। उनीहरुले आफूहरु वंगलादेशको आकाशमा रहेको जानकारी दिएका थिए, त्यतिखेर। सिल्क एयरले कमजोरी स्वीकारेर विमान फर्काउन सक्नेसमेत जनाइसकेको थियो।

ती तीन जना यात्रुलाई नेपाल ओराल्न पाउने कि नपाउने भन्ने अन्यौल रह्यो चालक दल र क्रु मेम्बरहरुबीच। त्यसैले उनीहरुले यसबारे खबर पनि गरिहाले।

यता विमानस्थलमा ती तीन जना बाहेकका आफन्तहरु भेला भइसकेका थिए। उनीहरु आफन्तको तीब्र प्रतीक्षामा थिए। त्यही विमान चढेर जानेहरुको पनि लर्को थियो विमानस्थलमा।

त्रिभुवन विमानस्थलमा विमान अवतरण भइसक्दा पनि यात्रुहरु बाहिरिएनन्। कारण थियो - नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिनु।

जतिखेर काठमाडौंको टर्मिनलमा सिल्क एयरका पाइलटले भित्र रहेका यात्रुको बारेमा जानकारी गराएका थिए त्यतिखेर विमानमा तीन घन्टा उड्नका लागि फ्युल बाँकी थिएन। कसैलाई पनि नउतार्न र विमानमा फ्यूल भरेर सिंगापुर नै फर्कन पाइलट राजी भइसकेका थिए। त्यतिमात्र होइन, मिल्ने भए नेपाल नउतारेर विमानलाई दिल्लीमा उतार्न सकिनेबारे पनि छलफल गरेका थिए। तर, काठमाडौंमा विमान उतार्ने र इन्धन भर्ने तथा यात्रुहरुलाई पुन: सिंगापुर नै फर्काउन पाइलट तयार भए।

तर, सजिलो कहाँ थियो र?

चालकदलको निर्णय मान्न यात्रुहरु तयार थिएनन्।

'चालक दलले जहाज रिफ्युलिङ गरेर पुनः फर्कने प्रस्ताव गरेपछि हामीले सोही अनुसार पत्र बनाइदियौँ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने, 'तर हामीले भने अनुसार के हुन्थ्यो र? यात्रुहरु आवेगमा आए।'

विमान फेरि सिंगापुर नै जाने भन्ने भएपछि यात्रुहरु चर्को विरोधमा उत्रिए।

घरमा आइपुगिसकेर फेरि किन फर्कने? उनीहरुको प्रश्न थियो। जहाजभित्रै हंगामा सुरु भइसकेको थियो।

'चर्को विरोध र हंगामालाई मध्यनजर गर्दै चालकले जहाज उडान गर्न असमर्थ रहेको घोषणा गरे,' केसीले भने, 'संसारभर कतिपय हवाई दुर्घटना जहाज भित्रैको आन्तरिक दबाब, खैलावैला आदिले भएका छन्। यस्तो अवस्थामा हामीले पनि जहाजलाई उडान गर्न दिने कुरा आएन।'

एकातिर विमानमा रहेका मानिसहरु उत्रिहाल्न चाहन्थे। अर्कातिर उनीहरुलाई लिन आएका आफन्त विमानस्थल बाहिर विरोधमा। 'यो अवस्थामा हामीसँग अरु कुनै विकल्प रहेन,' राति विमानमा रहेकालाई उत्रन दिनुको कारण सुनाए केसीले।

अन्तत: सिल्क एयरबाट सबै यात्रुलाई उतारियो। ती तीन जना, जसका कारण मध्यरातसम्म हंगामा भएको थियो, लाई क्वारेन्टाइनका लागि खरिपाटी पठाइयो। बाँकीलाई सेल्फ क्वारेन्टाइनमा रहन भन्दै पठाइयो।

तनावको यो श्रृङ्खलाका कारण सिल्क एयरको उक्त विमान कारवाहीमा पर्‍यो। र, तत्काल उडान गर्न पाएन। आज दिउँसोमात्र १ सय ६७ जना यात्रु लिएर सिंगापुर फर्कन पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell