
काठमाडौं : सरकारले तत्काल ५ हजार जनालाई क्वारेन्टाइनमा राख्ने तयारी अघि बढाएको छ। यसरी तयार हुने क्वारेन्टाइनलाई आवश्यकताअनुसार अस्थायी अस्पतालका रुपमा समेत रुपान्तरण गर्न सकिने तयारी गरिएको हो। त्यसका लागि विभिन्न क्षेत्रलाई जिम्मेवारीसमेत दिएको छ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि गठन भएको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलको बैठकले जिम्मेवारी तोकेको हो।
सार्वजनिक क्वारेन्टाइनस्थलको मापदण्डको मस्यौला आजै तयार गर्ने भएको छ। चारवटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले मापदण्ड तयार पारेर पेश गर्नेछ। यसको नेतृत्व गृह मन्त्रालयले लिनेछ।
मापदण्डको प्रतिवेदन अनुसार आवश्यक स्रोत साधन र बजेट व्यवस्थापनका लागि अर्थ, गृह, शहरी विकास तथा चारवटै सुरक्षा निकायको प्रतिनिधिले भोलि बिहान १० बजेसम्म प्रतिवेदन दिनेछ।
पर्यटन विभाग र नेपाल पर्यटन वोर्डले नेपाल होटल संघ र होटल व्यवसायी महासंघसँगको समन्वयदुई हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटलहरूको स्थान सहितको विवरण तयार गरी भोली विहान १० बजे पेश गर्नेछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारीले इचङ्गुनारायण स्थल र बलम्बुस्थित मनमोहन अस्पतालको भवन परिसरको निरीक्षण गरी आवश्यक कति व्यक्ति क्षमतामा प्रयोग गर्न सकिन्छ भन्ने विवरण तयार गरी १० बजे पेश गर्नेछन्।
प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधितले कम्तिमा २ हजार व्यक्ति क्षमताका होस्टेल र स्कुलको स्थानसहितको विवरण भोलि बिहानसम्म पेश गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषदले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानमा रहेका होस्टल तथा रङ्गशाला (टेन्टबाट निर्माण गर्न सकिने सहित)मा क्वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमता यकिन गरी भोलि बिहान १० बजेसम्म पेश गर्नेछन्।
साथै, कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशनसमेत दिइएको छ।
प्रत्येक प्रदेशले कम्तिमा २ हजार क्षमताका क्वारेन्टाइन तयार गर्नुपर्ने, प्रत्येक महानगरपालिकाले कम्तिमा २ हजार क्षमताकाको क्वारेन्टाइन, प्रत्येक उपमहानगरपालिकाले कम्तिमा एक हजार क्षमताको क्वारेन्टाइन तयार गर्नुपर्नेछ।
सबै जिल्ला सदरमुकाम रहेका नगरपालिका र गाउँपालिकाले- कम्तिमा हिमाली क्षेत्रमा 5 सय व्यक्ति, पहाडी क्षेत्रमा एक हजार व्यक्ति र तराईमा दुई हजार व्यक्ति क्षमताका क्वारेन्टाइन्स्थल तयार गर्नुपर्नेछ।