
काठमाडौं : नेपाली विद्यार्थी संघ (नेविसंघ)ले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र प्रभावकारी नियन्त्रण गर्न सरकारलाई सुझाव दिएको छ।
संघले कोरोनाले महामारीको रुप लिँदै गएको अवस्थामा संक्रमण देशमा भित्रिन नदिन, भित्रिहालेको खण्डमा रोकथाम र प्रभावकारी नियन्त्रण गर्न एकसाथ सजगता अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको बताएको छ। संघले आइतवार विज्ञप्ति जारी गर्दै संक्रमणको त्रासले दैनिक जनजीवन र सामाजिक व्यवस्था नखलबलियोस् भन्ने तर्फ पनि सरकारले कदम चाल्नु पर्ने उल्लेख गरेको छ।
सुझावहरु :
१. हवाई सेवा सञ्चालकहरुले देशका हरेक रुटमा चार्टर उडानका नाममा बढी भाडा असुलेको र पहिले दिई आएको छुट सुविधा समेत हटाएको भन्ने खबरहरु आएकोले सो नगर्न चेतावनी दिन चाहन्छौं।
२. उपत्यका बाहिर घर भएका र घर जान इच्छक विद्यार्थीहरुलाई सरकारले निःशुल्क घर पठाउने व्यवस्था गरोस्।
३. काठमाडौंमा घर बहाल लिएर बसेका विद्यार्थीहरुलाई संकट अवधिभर ५०% घरभाडा छुट हुने व्यवस्था मिलाइयोस्।
४. जनतालाई घर बसीबसी सूचना प्राप्त गर्न र घरमा समय बिताउन सहजताका लागि सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई सहलियत वा कर छट दिएर संकट अवधिभर इन्टरनेट सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था गरियोस्।
५. नेपालसँग सीमा जोडिएका भारतीय प्रान्तहरुमा पनि कोरोनाको प्रकोप फैलिँदै गएकोले भारतीय नाकाहरुमा आवतजावत पूर्ण रुपमा बन्द गरियोस्।
६. अत्यावश्यक उपभोग्य वस्तुहरुको कृतिम अभाव, महंगी र कालाबजारीको प्रभावकारी अनुगमन र नियन्त्रण गरियोस्।