PahiloPost

Jan 28, 2025 | १५ माघ २०८१

एकै दिन काठमाडौंबाट बाहिरिनेको संख्या २ लाख २२ हजार



रासस

एकै दिन काठमाडौंबाट बाहिरिनेको संख्या २ लाख २२ हजार

काठमाडौं : सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आज मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्। यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु भित्रिएको महाशाखाले जनाएको छ।

चैत ६ गतेपछि चार दिनको अवधिमा राजधानी छाड्ने यात्रुको सङ्ख्या भने छ लाख ६८ हजार २६ पुगेको छ । शनिबार दुई लाख ६ हजार यात्रुले र शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेका थिए। राजधानी भित्रिने क्रम क्रमशः घट्दै गएको छ भने बाहिरिने क्रम बढ्दो रहेको महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो। त्यसपछि राजधानी छाड्ने क्रम ह्वात्तै बढेको हो।

कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ। यस्तै आज रातिदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ। बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने कायमै छ। प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell