
काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित इरानले अमेरिकी सहयोग अस्वीकार गरेको छ।
कोरोना संक्रमणबाट धेरै क्षति व्यहोर्नेमध्यको एक इरानलाई अमेरिकाले मानवीय सहायताको प्रस्ताव गरेको थियो। मध्य-पूर्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित इरान अहिले संकटमा छ। त्यहाँ चीनले सहयोग गरिरहेको छ।
इरानमा २१ हजार बढी मानिस संक्रमित छन्। १ हजार ६ सय ८५ मानिसको मृत्यु भइसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा इरानसँग २०१५ मा भएको परमाणु सम्झौता खारेज गरेपछि दुई देशबीच तनाव बढेको थियो। त्यसयता अमेरिकाले इरानमा थुप्रै प्रतिबन्ध लगाएको छ।
अमेरिकाले मानवीय सहयोगको प्रस्ताव गरेपछि इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी आशंका व्यक्त गरेको रोयटर्सले जनाएको छ। कोरोना भाइरस रोक्न आफैं कमजोर देखिएको अमेरिकाले सहयोगको प्रस्ताव आश्चर्यजनक भएको उनको भनाई छ।
अमेरिकामाथि कोरोना भाइरस फैलाएको आरोप पनि लागेको बताउँदै सर्वोच्च नेता खामेनीले भने, 'हामीलाई थाहा छैन कि सत्य के हो। तर, जसरी आरोप लागेको छ, त्यस्तो अवस्थामा के एक बुद्धिमान मानिस तपाईमाथि भरोसा गर्नसक्छ? तपाईको प्रस्ताव स्वीकार्न सक्छ? यो पनि सम्भव छ कि तपाईहरु इरानलाई त्यस्ता औषधि दिनुहुनेछ जसबाट कोरोनाको संक्रमण अझै बढ्न सकोस। वा भाइरस सधैका लागि रहोस।'
यसै वर्षको सुरुवातमा अमेरिकी सेनाले राष्ट्रपति ट्रम्पको आदेशमा ड्रोन हमलाबाट इरानी शीर्ष कमाण्डर कासीम सुलेमानीको हत्या गरेको थियो। यो घटनापछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेका बेला कोरोनाको संकटका बीच अमेरिकाले सहयोगको प्रस्ताव गरेपछि ख़ामेनीले थपे, 'अमेरिका हाम्रो लागि नम्बर वान शत्रु हो। सबैभन्दा कट्टर शत्रु हो। अमेरिकाका नेता झुटा र धोकेबाज हुन्।'
इरानले कोरोना भाइरस फैलिनुमा अमेरिका जिम्मेवार रहेको समेत आरोप लगाएको छ। अमेरिकी प्रतिबन्धनका कारण कोरोना भाइरसविरुद्धको लडाईमा आफूहरु कमजोर बनेको इरानको बुझाई छ। इरानका राष्ट्रपति हसन रूहानीले यो संकटका बेला इरानमाथिको प्रतिबन्ध हटाउनका लागि आफ्नो सरकारमाथि दबाब बढाउन अमेरिकी नागरिकलाई आग्रह गरेका छन्।
उता चीनले पनि कोरोना भाइरसको संक्रमणमा रहेको इरानमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह गरेको छ।